काठमाडौं । सहकारी ठगी प्रकरणको विषय अनुसन्धान गर्न गठित संसदीय छानविन विशेष समितिले संसदमा प्रतिवेदन बुझाइ सकेको छ । भदौ ३१ गते संसदमा बुझाइएको प्रतिवेदनमा गोर्खा मिडियाका प्रालिका सञ्चालक जीवी राईसहित प्रबन्ध निर्देशक रवि लामिछानेमाथि कारवाहीको सिफारिस गरिएको छ ।
मुख्यगरी जिबी राईले गैर कानूनी तवरले विभिन्न सहकारीबाट अरबौँ रकम गोरखा मिडिया प्रालिमा भित्र्याएको र रवि सहितको संचालक समितिले उक्त रकम खर्च गरेको समितिको ठहर छ । यही कारणले रविमाथि पनि कारवाही गरिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
रवि गोरखा मिडिया प्रालि अन्तरगतको ग्यालेक्सी टिभीमा कार्यरत रहँदा ६५ करोड रकम खर्च भएको उल्लेख गर्दै कारवाही सिफारिस गरिएको हो । तर यो सिफारिसलाई रास्वपा र रविले भने हल्का रुपमा लिइरहेका छन् ।
मुख्यतः सहकारीबाट रकम जिबीले भित्र्याएकाले कार्यालय संचालनका क्रममा खर्च गरिनु रविको दाष्ो नभएको रास्वपाको जिकिर छ ।
प्रतिवेदनमा काँग्रेस सांसदहरुले आरोप लगाएजस्तै रकम नै माग गरेर रविले सहकारीको रकम अपचलन गरेको भने देखिँदैन । यो कार्यमा जिबी राईको मुख्य संलग्नता देखिएको छ । तर जिबीमार्फत आएको रकमलाई खर्च गरेवापत रवि कारवाहीको भागेदार बन्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनकै विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्ष विभाजित छन् ।
यस विषयमा रास्वपा र अन्य दलहरुको विश्लेषण पनि फरक छ । सत्तारुढ दल काँग्रेस र एमालेले सहकारीबाटै आएको रकमलाई रविले एकल हस्ताक्षरमार्फत खर्च गरेका कारण कारवाहीको भागेदार हुनै पर्नेमा जोड दिइरहेका छन् । तर उता रवि भने सहकारी प्रकरणमा आफू निर्दोष रहेको जिकिर गर्दै गोरखा मिडियाको नामबाट आफूलाई कारवाही गर्न खोजिकएको तर्क गरिरहेका छन् ।
हुनत रविमाथि कारवाहीका लागि भएको सिफारिसको विषयमा विभिन्न पक्षबाट भिन्न भिन्न तर्क आइरहेका छन् ।
समितिमा वयान दिएका केही सहकारीकै पदाधिकारीले पनि नक्कली ऋण खडा गरि रविको नाममा करोडौँ रकम गएको उल्लेख गरेका छन् । तर त्यसलाई प्रमाणित गर्ने कागजी आधारहरु भने नभएको वयानमा बताइको खुलेको छ । यद्यपि रविले भने आफू निर्दोष रहेको बताउँदै यसको दोष सबै जिबी राईमाथि नै थोपर्ने गरेका छन् । तर जेहोस् सरकार समितिको सिफारिस अनुसार रविमाथि कारवाही गर्न अघि बढी सकेको छ ।
वयानको अधिकांश प्रश्नमा आफूले ऋण नलिएको र निर्दोष रहेको दावी गरेपनि रविले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट आएको रकम अपचलन गरेको ठहर भइसकेको छ ।
समितिमा सर्वसम्मतिबाट पारित भएको प्रतिवेदनले सहकारीबाट गोरखा मिडियामा गएको रकम व्यवस्थापकीय जिम्मेवारी सम्हाल्ने क्रममा रविबाट अपचलन भएन भन्ने तथ्यलाई काट्न नसकिने दावी पेश गर्दै प्रचलित कानून अनुसार कारबाही गर्नुपर्ने सिफारिस भएको हो ।
रविविरुद्ध पुरक उजुरी पनि
नेपाल प्रहरीले पोखरास्थित सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा रविविरुद्ध पुरक उजुरी पनि लैजाने भएको छ । छानविन समितिले रविलाई कारवाही सिफासिर गरेपनि सुर्यदर्शन सहकारीकै प्रकरणमा पनि थप अनुसन्धानका लागि प्रहरीले पुरक उजुरी लैजाने भएको हो ।
सुर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा यसअघि नै अदालतमा मुद्दा दर्ता भइसकेको छ । थप अनुसन्धान गर्नुपर्ने अवस्थामा हिनामिनामा संलग्न देखिएकाहरूलाई पूरक अभियोग लैजान मिल्ने कानुनी व्यवस्था छ । यही अनुसार पनि रविविरुद्ध प्रहरीले पुरक उजुरी लैजाने भएको हो ।
संसदीय छानबिन समितिको सिफारिसको आधारमै पूरक अभियोगको तयारी गर्न केन्द्रले कास्की प्रहरीलाई निर्देशन दिइसकेको छ ।
छानविन समितिको वयानपछि पनि प्रहरीले सुर्यदर्शन सहकारीकै केसमा रविमाथि यसअघि पनि सोधपुछ गरेको थियो । तर समितिको प्रतिवेदन पेश भएर कारवाही सिफारिस भइसकेपछि पनि रविमाथि थप अनुसन्धान हुने भएको हो ।