News 24 Television
विदेशीले कान ठाडो पार्ने ‘फ्रिक स्ट्रीट’

काठमाडौं । सन् १९७२ मा बलिउड अभिनेता देवानन्द र जिनत अमानको चलचित्र ‘हरे रामा हरे कृष्णा’को छायांकन काठमाडौंमा गरिएको थियो । उक्त चलचित्र हिप्पी कल्चरमा आधारित थियो । त्यो समयमा वसन्तपुरको झ्वःछेँलाई ‘फ्रिक स्ट्रिट’ भनेर चिनिन्थ्यो । नेपालमा पहिलोपटक छायांकन गरिएको यो नै पहिलो भारतीय चलचित्र हो । 

त्यसबेला विदेशीहरूले नेपाल नचिने पनि ‘फ्रिक स्ट्रिट’ भनेपछि कान ठाडो पार्थे । न्युरोड हुँदै वसन्तपुर दरबार छिर्दा पहिलो गल्ली नै ‘फ्रिक स्ट्रिट’ हो । 

१९६० को दशकतिर नेपाल आउने पर्यटकलाई नेपाली संस्कृति, जीवनशैली बुझ्नका साथै मनोरञ्जन ‘फ्रिक स्ट्रिट’ले दिन्थ्यो । पर्यटक प्रेम र स्वतन्त्रताको खोजी गर्दै ‘हिप्पी’ का रुपमा नेपाल भित्रिएसँगै जिन्स, क्यासेट, क्यामेरा र नयाँ फेसनको सुरुवात पनि भयो ।

‘फ्रिक स्ट्रिट’ प्रसिद्ध चलचित्र कलाकार, संगीतकारहरू, र पश्चिमी संसारका कलाकारहरूको लागि छुट्टी र प्रेरणा स्थल थियो । तर, बीचमा हिप्पी कल्चर हराएसँगै झ्वःछेँले पनि आफ्नो रौनकता गुमायो । विसं २०३४ सालमा गाँजा, चरेसजस्ता लागूऔषधमाथि पूर्ण रूपमा प्रतिबन्ध लागेपछि फ्रिक स्ट्रिटको अस्तित्व बिलाउँदै गयो । पर्यटन प्रब्रधन गर्ने फ्रिक स्ट्रिट खुम्चिँदै गयो र ठमेल विकसित भयो । तर, ‘फ्रिक स्ट्रिट’को पुरानो रौनकता र पहिचानलाई पुनर्जिवित गर्न र पर्यटकले भरिभराउ बनाउन स्थानीयहरू लागि परेका छन् । 

इन्द्रजात्राको अवसरमा विगतका केही वर्षदेखि झ्वःछेँमा सांस्कृतिक एवम् सांगीतिक महोत्सवको आयोजना गरिँदै आएको छ । सांस्कृतिक नगरीलाई राज्यले बेवास्ता गरेको महशुस गर्दै जात्रालाई पर्यटक मैत्री र समय सापेक्ष बनाउने स्थानीयहरूको योजना छ । 

हाल ‘फ्रिक स्ट्रिट’ले आफ्नो पुरानो हिप्पी ख्याति गुमाए पनि, यो ऐतिहासिक सडक पर्यटकहरूका लागि एक लोकप्रिय गन्तव्य नै हो । यहाँ पुराना चियापसल, हस्तकला पसलहरू र हिप्पीकालीन समयमै झल्को दिने थुप्रै रेष्टुरेन्टहरु छन् । झ्वःछेले अझै पनि त्यतिबेलाको खुला संस्कृति र इतिहासलाई प्रतिबिम्बित गर्दछ । यसलाई अझ प्रर्वद्धनको आवश्यकता रहेको सरोकारवालाहरूको तर्क छ । 

युगको परिवर्तन भएपनि ‘फ्रिक स्ट्रिट’ले अझै पनि बितेको हिप्पी युगको सम्झना दिलाउँछ र आधुनिक–दिनको आकर्षण र पर्यटनका लागि सांस्कृतिक रूपमा महत्वपूर्ण क्षेत्र भएको छ । पर्यटकहरू आधुनिक आकर्षणहरूमा लिप्त हुँदा पनि विगतमा अन्वेषण उजागर गर्न उत्साहित छन् । 

परम्परा र आधुनिकता मिसिएको ‘फ्रिक स्ट्रिट’लाई पुनः चलायमान बनाउनका लागि सांस्कृतिक, आर्थिक, र पर्यटकीय दृष्टिकोणबाट विभिन्न रणनीतिहरू लागू गर्न आवश्यक छ । हिप्पी युगको ऐतिहासिक महत्वलाई उजागर गर्दै थीमेटिक कार्यक्रमहरू जस्तै संगीत उत्सव, कला प्रदर्शनी, र ध्यान तथा योग सत्रहरू आयोजना गर्न सकिन्छ । 

त्यसैगरी, स्थानीय कला र हस्तकलाको प्रवर्द्धन गर्दै स्ट्रीट आर्ट, र हस्तकला पसलहरू स्थापना गर्न सकिएमा सडकलाई जीवन्त बनाउँछ । स्थानीय समुदाय र निजी क्षेत्रसँगको सहकार्यमा यी योजनाहरू कार्यान्वयन गर्दा ‘फ्रिक स्ट्रिट’लाई पुनः चलायमान बनाउन मद्दत पु¥याउँछ ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update