News 24 Television
नेपालका मनमोहक यी ठाउँ, पर्यटकको ओईरो

काठमाडौं । विस्तारै मनसुन बाहिरिने क्रममा छ । मौसम सफा देखिँदा निलो आकाशमुनि चाँदीका घेराझै हिमश्रृङ्खला टल्किन थालेका छन् । अर्थात, दसैँ, तिहार, छठलगायत पर्व नजिकिँदै आएका छन् । 

चाडपर्वको यो माहोल घुमफिरका लागि पनि उपयुक्त मानिन्छ । त्यसैले पनि होला अहिले आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढिरहेको छ । 

मनसुन विस्तारै बाहिरिने क्रममा रहेसँगै मुलुकभरको मौसममा रमणियता थप बढेको छ । मौसम सफा देखिँदा निलो आकाशमुनि चाँदीका घेराझै हिमश्रृङ्खला टल्किन थालेका छन् । वा भनौं अहिले मुख्य पर्यटकीय मौसमसुरु भइसकेको छ । यसले पर्यटन क्षेत्रमा चहलपहल बढ्दै छ । 

मौसम खुलेसँगै काठमाडौं उपत्यका वरिपरि देखिने मनमोहक दृश्यले थप उल्लासमय बनाएको छ । उपत्यकाका डाँडा र उत्तरी क्षेत्रमा देखिने हिमशृङ्खलाले शरद ऋतुको मौसमलाई थप मनमोहक तुल्याएको छ । 

धुलिखेल, नगरकोट, चन्द्रागिरि हिल्स, जरसिङ्ह पौवा, सुन्दरीजल, शिवपुरी, चोभारलगायत गन्तव्यमा पर्यटकीय चहलपहल बढेको व्यवसायीले बताएका छन् । उपत्यकाका तीर्थस्थल, धार्मिक तथा पुरातात्त्विक क्षेत्रमा घुम्नेको पनि भीडभाड देखिन्छ।

यस्तो अवस्थामा अब पर्यटन क्षेत्र थप चलायमान बन्दै जाने व्यवसायीको विश्वास छ । होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार मौसम खुलेसँगै उपत्यका आसपास र प्रमुख गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ । 

यो मौसममा आन्तरिक पर्यटन एकदमै राम्रो रहेको छ । चाडपर्वसँगै बिदा मनाउनेहरू गन्तव्यमा निस्किएका छन्। अहिले मौसमले पनि साथ दिएकाले पर्यटनमा सकारात्मक उत्साह थपिएको छ ।

हानकानुसार अहिलेको अवस्थामा ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार बनिसकेका छन् । तारे होटल र चेन होटल धमाधम थपिँदैछन् । शरद ऋतु पदयात्राका लागि पनि उपयुक्त मौसम पनि हो । 

अन्नपूर्ण, लाङटाङ, खुम्बु, मुस्ताङ, मनाङ, खप्तडलगायत गन्तव्यमा पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक निस्कन्छन् । यही सिजनमा मनास्लुलगायत हिमालको आरोहणमा आरोहीको आकर्षण हुन्छ । अहिले मौसम पनि पर्यटनमैत्री बन्दैछ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार पर्यटन क्षेत्र सुधारका लागि अब पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर नीतिगत सुधार र प्रवर्द्धनका कामलाई प्रभावकारी रूपमा अगाडि बढाइने छ । 

त्यसले पनि व्यवसायीमा थप उत्साह थप्ने विश्वास लिइएको छ । पर्यटक बढाउन हवाई सेवालाई सर्वसुलभ बनाउदै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई सवलीकरण गर्नु पर्ने सुझाव समेत व्यवसायीहरुका छन् । 

यो सिजन पदयात्रा र पर्वतारोहणका लागि पनि उपयुक्त हो । यतिखेर उल्लेख्य सङ्ख्यामा पर्यटक गन्तव्यतिर निस्केका छन् । मौसमले साथ दिएकाले पर्वतारोहण र पदयात्रा सहज भएको पर्यटन विभागले जनाएको छ । 

वभागको पर्वतारोहण शाखाकानुसार मनास्लु आरोहणका लागि हालसम्म  २८ आरोही समूहका तीन सय आठ आरोहीले अनुमति लिएका छन् । 

मकालु र धौलागिरीमा समान एक आरोही समूहले अनुमति लिएका छन भने अन्य हिमाल तथा चुली आरोहणमा अझै आरोहीले धमाधम अनुमति लिइरहेका छन्। सेप्टेम्बर, अक्टोबर र नोभेम्बरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ।

सरकारले चालु आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक मनाएर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने सरकारको योजना छ । 

बोर्डका अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२४ को पहिलो आठ महिनामा सात लाख २० हजार तीन सय ३४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update