News 24 Television
प्रधानमन्त्री ओली अमेरिका भ्रमणका लागि प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणका लागि प्रस्थान गरेका छन् । शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी नेतृत्वको प्रतिनिधिमण्डल अमेरिका उडेको हो । संयुक्त राष्ट्रसंघको  ७९ औँ महासभामा भाग लिन ओली अमेरिकाको न्यूयोर्कका लागि प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई विमानस्थलमा उपप्रधानमन्त्रीहरू प्रकाशमान सिंह, विष्णु पौडेल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल लगायत मन्त्रीहरूले बिदाइ गरे । त्यसक्रममा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले सम्मान गारथ अर्पण गरेको थियो । 

प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल लगायत केही वरिष्ठ अधिकारीहरू न्युयोर्कका लागि प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि उनले असोज ७ गते कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा सम्बोधन गर्ने र ८ गते महासभाको साधारण बहसको उदघाटन सत्र मा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा पनि नेपाली प्रतिनिधि मण्डल सहभागी हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update