News 24 Television
बालेन इफेक्ट : युवाहरूले हाँक दिन थालेपछि उपदेश सिकाउँदै ओली–देउवा

काठमाडौँ । नेपालमा पछिल्लो समय पुराना दलका बूढा नेताहरूप्रति आम युवामा अर्को असन्तोष देखिन्छ । ती दलहरूभित्रैका युवा नेताहरूले समेत बूढा नेतालाई हाँक दिइरहेको अवस्थामा स्वतन्त्र युवा नेताहरूले पनि ठूलै चुनौती दिइरहेका छन् । यसको पछिल्लो उदाहरणका रुपमा काठमाडौँ महानगरका मेयर बालेन शाहलाई लिन सकिन्छ । जसले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीलाई निरन्तर चुनौती दिइरहेका छन् । कतिपयले यसलाई ओली र बालेनबीचको व्यक्तिगत इगोका रुपमा बुझे पनि यो खासमा नेपाली आम युवाहरू र बूढा नेताहरूबीचको वैचारिक मतभेद एवं द्वन्द्वको झिल्को हो । बालेनको पक्षमा ठूलो युवा जमातको समर्थन देखिन्छ भने ओली, देउवा, प्रचण्डजस्ता नेताहरूप्रति आक्रोश मात्र देखिन्छ ।

प्रधानमन्त्री ओलीले पछिल्लो समय युवा जमात भड्किन थालेको महसुस गरेको हुनुपर्छ, र त उनी बेलाबखत युवा पुस्तालाई अर्ती दिन थालेका छन् । बिहीवार टुँडिखेलमा आयोजित संविधान दिवस मूल समारोहमा ओलीले नेपाली समाज अराजक, अशिष्ट र अमर्यादित हुँदै गएको बताए । उनले पाका उमेरका व्यक्तिले तन्नेरीलाई स्नेह गर्ने र युवा तथा वयस्कले ज्येष्ठ नागरिकहरूको सम्मान गर्ने नमूना समाज देशले चाहेको बताए । शान्त, सभ्य र सुसंस्कृत, सुखसहितको समृद्ध समाज आफूहरूले चाहेको बताउँदै ओलीले अराजक, अशिष्ट र अमर्यादित व्यक्तिको क्रिडास्थल समाज हुन नहुने बताए । 

प्रधानमन्त्री ओलीले नेपालीले अब प्राप्त अधिकारको रक्षा र कार्यान्वयनका लागि, राजनीतिक स्थिरता र नीतिगत स्थायित्वका लागि अर्को लडाइँ लड्नुपर्ने समेत बताए । तर यिनै कुराका लागि युवा पुस्ताका नेताहरू नयाँ जोश र जमातसहित राजनीतिमा उदाइरहँदा ओलीले त्यो दृश्य मन पराएका छैनन् । एउटा युवाले देशभित्रै रोजगारी पाउने, एउटा श्रमिकले मर्यादित काम पाउने, प्रत्येक नागरिकलाई स्वास्थ्योपचारमा समान पहुँच, ओत लाग्ने ठाउँ नभएर कुनै नागरिकले आकाशतिर हेर्न नपर्ने अवस्था सिर्जना गर्नेगरी सरकारले काम गर्ने उनको प्रतिबद्धता भए पनि यथार्थमा देशको हविगत दयनीय भइरहेको छ ।

गत भदौ १० गते टुँडिखेलमा आयोजित गौरा पर्व समारोहमा पनि ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले युवा जमातलाई अर्ती मात्र दिएनन्, पक्राउ गरेर ठीक पार्न आदेश समेत दिए । उक्त समारोहमा केही युवाहरूले प्रधानमन्त्री ओली, काँग्रेस सभापति देउवा लगायत नेताहरूविरुद्ध नाराबाजी गरेका थिए । देउवाले मञ्चबाट सम्बोधन गर्ने क्रममा भीडबाट चर्को नाराबाजी र होहल्ला सुरु भएको थियो । आफू बोल्ने बेला नाराबाजी भएपछि देउवा आक्रोशित भए । उनले नाराबाजी गर्ने युवाहरूलाई बदमास, उच्छृङ्खल भन्दै कारबाही गर्ने चेतावनी समेत दिए । नेपाली समाजमा नैतिकता हराउँदै गएको भन्दै अर्ती दिए । 

सोही समारोहमा प्रधानमन्त्री ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको भन्दै अर्ती–उपदेश दिए । युवा पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार सभ्यता र शिष्टता बिर्सिएको देख्दा आफूलाई अचम्म लागेको उनको भनाइ थियो । नयाँ पुस्ताको यस्तो अकर्मण्यता नेपालीपन नभएको भन्दै ओलीले नेपालीपन र नेपाली संस्कृतिलाई बढावा दिन युवाहरूलाई उपदेश दिए । नेपाली समाज संस्कृतिले भरिपूर्ण भएकाले जति बिथोल्न खोजे पनि र जति भाँड्न खोजे पनि नभाँडिने उनको भनाइ थियो ।

वर्षौैंदेखि प्रमुख राजनीतिक पार्टीको शीर्ष नेतृत्वमा मात्र नभएर सरकारमा समेत बूढा नेताहरूकै रजगज रहिआएको छ । ओली, प्रचण्ड, देउवा, माधव र बाबुरामहरूकै अनुहार पटकपटक दोहोरिरहँदा र यिनीहरूबाट देशलाई गति दिने कुनै तारिफयोग्य काम हुन नसक्दा आम युवा वर्गमा अन्तोष÷आक्रोश गुम्सिँदै गएको छ । र त उनीहरूको रोजाइ यी बूढा नेताहरूभन्दा रवि, बालेन, हर्क र गोपी हमालजस्ता युवा नेताहरू हुन थालेका छन् । वर्तमान राजनीतिक संस्कारको विकल्प र समय सुहाउँदो परिवर्तन खोजिरहेका युवाहरूलाई ७०–८० काटेका र पटकपटक सत्ताको स्वाद लिएका बूढा नेताहरूले अर्ती र धम्की दिएर भड्काउने काम गर्नुको सट्टा युवाहरूलाई सक्षम बनाउँदै नेतृत्व तहमा पु¥याउन भूमिका खेल्नु अहिलेको समयको माग हो । 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update