News 24 Television
समाज अमर्यादित कि संविधान कार्यान्वयनमा समस्या ?

काठमाडौं । सरकारले हरेक वर्षजस्तै यो वर्ष पनि विहीबार भब्य कार्यक्रम गरी संविधान दिवस मनाएको छ । ऐतिहासिक संविधानसभाबाट पहिलो पटक २०७२ असोज ३ गते संविधान जारी भएको दिनको सम्झनामा संविधान दिवस मनाउने गरिएको छ । आम नागरिकले भने संविधानको सार्थकता खोजिरहेका छन् । 

हरेक वर्षजस्तै यो वर्ष पनि विहीबार सरकारले भब्य रुपमा संविधान दिवस मनाएको छ । काठमाडौंको सैनिक मञ्च टुंडिखेलमा भब्य समारोह गरी सरकारले संविधान दिवस मनाएको हो । 

२०७२ असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा यो दिनलाई राष्ट्रिय दिवसकै रुपमा मनाउने गरिएको छ । 

जनताबाट लिखित पहिलो संविधान भएको भन्दै यसलाई सरकारले उत्सवकै रुपमा मनाउने गरेको छ । ऐतिहासिक संविधानसभाबाट संविधान जारी भई संघीय लोकताान्त्रिक गणतन्त्रको स्थापना भए पनि राज्य संविधान कार्यान्वयनमै चुकेको छ । संविधानको मौलिक हक समेत कार्यान्वयन हुन सकिरहेको छैन । 

त्यसैको आक्रोश आम नागरिकमा चुलिएको छ । त्यसको प्रभाव संघीय लोकतान्त्रिक गणतन्त्रको ब्यवस्थामा नै पर्ने देखिएको छ । तर संविधान दिवसको अवसरमा विहीबार सैनिकमञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने राजनीतिक दलका नेतृत्व भन्दा पनि सिङ्गो समाजलाई नै दोष देखाएका छन् । 

यसअघि गौरापर्वको अवसरमा टुंडिखेलमै आयोजना भएको कार्यक्रममा युवाहरुले प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतविरुद्ध नाराबाजी गरेका थिए । 

सांस्कृतिक पर्वको कार्यक्रममा आफूविरुद्ध नाराबाजी भएको भन्दै आक्रोशित भएका प्रधानमन्त्री ओलीले युवाहरुविरुद्ध आक्रोश पोखेका थिए भने नाराबाजी गर्ने युवाहरुलाई खोजीखोजी पक्राउ गरिएको थियो । 

संविधान दिवस समारोहमा पनि प्रधानमन्त्री ओलीले शिष्ट र मर्यादित नेपाली समाज भनी वसुधैव कुटुम्बकमको उदाहरण प्रस्तुत गरेका छन् । 

धर्मनिरपेक्षता, समावेशी समानुपातिक, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्क राज्य भनी संविधानमै उल्लेख गरिएको छ । तर संविधानमै वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक विभेद र सवै प्रकारको जातीय विभेदको अन्त्य गरी समातामुक समाज निर्माणको संकल्प गरिए पनि कार्यान्वयन नभएको भन्दै संविधान दिवस मनाइरहँदा अधिकारको खोजीमा सडकमा आवाजहरु घन्किरहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update