मकवानपुर । पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पलेशा गोवर्धन र एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ ।
हेटौँडास्थित मुख्यमन्त्री कार्यालयमा विहीबार कार्यक्रम आयोजना गरि पलेशा, एरिका र उनीहरूका प्रशिक्षक तथा तेक्वान्दो र कराँतेको प्रदेश संघलाई नगदसहित सम्मान गरिएको हो ।
पलेशालाई १० लाख, एरिकालाई ५ लाख, पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई २ लाख, एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख रुपैयाँ, तेक्वान्दो र कराँतेको प्रदेश संघलाई समान एक–एक लाख रुपैयाँसहित सम्मान गरिएको हो ।
यस अवसरमा एसियाडमा करातेका व्यवस्थापक निवास गोपाल वैध र पारा ओलिम्पिक्सका तेक्वान्दोका व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई समेत प्रशंसा पत्रसहित सम्मान गरिएको छ ।
सम्मान कार्यक्रम अघि पलेशा र उनका प्रशिक्षक लामालाई नगर परिक्रमा गराइएको थियो । सम्मान ग्रहण पश्चात् पलेशाले पारा खेलको बारेमा नेपालमा थाहै नभएको अवस्था चुनौती भएको र आगामी दिनमा आफु यसको प्रचार एवम् प्रोत्साहनमा लाग्ने बताइन् ।
कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले पदक जित्ने खेलाडीलाई पुरस्कृत गर्न नीतिगत रुपमा स्पष्ट गर्ने तयारी भइरहेको जानकारी समेत दिए ।