कास्की । देशका सबै सहरी क्षेत्रहरूको सबैभन्दा ठूलो समस्या हो सार्वजनिक शौचालय नहुनु । त्यही समस्याले ग्रस्त थियो देशको पर्यटकीय राजधानी पोखरा पनि । तर पोखराको महेन्द्र पुलमा अहिले देशकै नमुना सार्वजनिक शौचालय शुभारम्भ भएको छ ।
हरेक चोकहरुमा यस्तै बगैंचा सहितको अत्याधुनिक शौचालय निर्माण गर्ने योजनामा पोखरा महानगरपालिका लागि परेपछि कम्तिमा पोखरामा भने यो समस्या हट्ने छाँटकाँट देखिएको छ ।
एकातिर विश्वका सबै राष्ट्रहरूका झण्डाको पार्क, त्यसको ठीक अगाडि पानीका फोहोराहरुले सजिएको सुन्दर बगैंचा, त्यो सँगै छ नेवारी संस्कृति झल्कने फल्चा, यता सेतीको डिलमा स्थानीय निर्माण सामाग्री प्रयोग गरेर निर्माण गरिएको अत्याधुनिक सार्वजनिक शौचालय देखिन्छ ।
यी दृश्य देख्दा पोखराको पुरानो चोक महेन्द्रपुल हो भन्दा पत्यार नलाग्न पनि सक्छ । केही समय अघिसम्म अनेकन कुरुपताले ढाकेको महेन्द्रपुल चोक अहिले देशकै उत्कृष्ट चोक हो जस्तो लाग्छ । संविधान दिवसको अवसर पारेर पोखरा महानगरपालीकाले महेन्द्रपुलमा यी सुन्दर संरचनाहरुको सुरुवात गरेको छ ।
अबदेखि पोखराको महेन्द्रपुल र चिप्लेढुङ्गा वरपर काम विशेषले आउँदा शौचालय खोज्दै भौतारिनु पर्ने छैन । थकाइ लाग्यो भने थकान मेट्नका लागि सुन्दर बगैंचा र फल्चा रहेको छ । चोकलाई आकर्षित बनाउनका लागि यस अघि नै विश्वका राष्ट्रहरूको झण्डा राखेर पार्क सञ्चालन गरि सकिएको छ ।
सार्वजनिक शौचालयमा जम्मा भएको शौचबाट बायो ग्यास उत्पादन गरी महेन्द्रपुलमा नै त्यो ग्यासबाट खाजा घर सञ्चालन गरिनेछ । महेन्द्रपुलमा निर्माण भएका यी संरचनामा पोखरा महानगरपालिकाको समन्वयमा लगानी भने झन्डा पार्कमा लायन्स क्लब, सार्वजनिक शौचालय र बगैँचामा गैर आवशीय नेपाली संघ एन आर एन ले आर्थिक सहयोग गरेको हो ।
जसमध्ये शौचालय निर्माणमा ८० लाख, पार्कमा २५ लाख खर्च भएको छ । पोखरा महानगरपालिकाले झन्डै १८ महिना लगाएर पोखराका ताल तलैया, प्राकृतिक सम्पत्ति, भवनको मापदण्ड लगायतको विषयमा आफ्नो बेग्लै रणनीति तयार गरी र त्यही अनुसार बन्ने हरेक संरचना यहाँको वातावरण सुहाउँदो र सुन्दर बनाउने महानगरपालिकाका प्रमुख धनराज आचार्य बताउँछन् ।
त्यसो त पोखरा महानगरपालिकामा मेयरको रूपमा धनराज आचार्य निर्वाचित भएदेखि जनताले महसुस गर्ने गरी काम नभएको गुनासो सुनिँदै आएको थियो । तर महानगरपालिकाले भने अहिलेसम्म अत्यावश्यक गर्ने काम बाहेक महानगर विकासको रणनीति तयारमा जुटेको भन्दै आगामी दिनमा जनताले स्पष्ट देखिने खालका काम गर्ने जनाएको छ ।
भलै दातृ निकायको सहयोगमा निर्माण गरिएको होस्, यो फेरिएको महेन्द्र पुलले महानगरप्रति जनता सकारात्मक हुनेछन् ।