News 24 Television
धरहरामा सर्वसाधारणको घूइँचो, निःशूल्क चढ्न पाइने  

काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर बिहिवारदेखि सर्वसाधारणका लागि धरहरा खुला गरेको छ । एक हप्ताअघि बसेको मन्त्रिपरिषदको बैठकले असोज ३ गते संविधान दिवसको अवसर पारेर धरहरा सर्वसाधारणका लागि अस्थायी रूपमा खुला गर्ने निर्णय गरेको थियो । 

सोही निर्णय अनुसार बिहिवारदेखि धरहरा खुला भएको हो । धरहरा निर्माणको ९५ प्रतिशत काम सम्पन्न भैसकेको छ भने पाँच प्रतिशत काम बाँकी छ । केही समय प्रवेश निःशुल्क गरिने र बिस्तारै डिजिटल एपमार्फत् टिकट काट्ने व्यवस्था गरिने बताइएको छ । बाहिरबाट हेर्दा ११ तलाको देखिने धरहराको भित्री संरचना २२ तलाको छ । 

धरहरामा जमिन मुनिका तीन तलासम्म पार्किङको व्यवस्था छ । माथि पुग्न दुई वटा लिफ्टको साथै सिँढीको पनि व्यवस्था गरिएको छ । धरहराको वरपर विश्राम स्थलसहितको बगैंचा छ । ऐतिहासिक सुन्धारामा २४ सै घन्टा पानी आउने व्यवस्था मिलाइएको छ । ४२.२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा परिसरमा संग्रहालय, प्रदर्शनी कक्ष, पुस्तकालय, पार्किङ स्थल, क्याफे र व्यापारिक पसल सञ्चालनमा आउनेछ । 

धरहरा परियोजनाअन्तर्गत यात्रु प्रतीक्षालय तीन महिनाअघि नै सञ्चालनमा आइसकेको छ । धरहरा सर्वसाधारणका लागि खुल्ला गरिएसँगै हेर्न र चढ्नका लागि धुइँचो लागेको थियो । उनीहरूले नयाँ बनेको धरहरा सुबिधा सम्पन्न रहेको भन्दै प्रशंसा गरेका छन् भने सरकारलाई केही सुझव पनि दिएका छन् । 

२०७२ वैशाख १२ गतेको भूकम्पले धरहरा भत्किएको थियो । भीमसेन स्तम्भको नामले समेत परिचित धरहराको भग्नावशेष अहिले निर्मित धरहराभन्दा पछाडि देख्न सकिन्छ । उक्त भग्नावशेषलाई सिसाले छोपेर सर्वसाधारणले देख्न सकिने गरी राख्ने सरकारको तयारी छ । 

अर्को व्यवस्था नहुँदासम्म सर्वसाधारणले निःशुल्क धरहरा  बिहान साढे १० देखि दिउँसो साढे ४ सम्म चढ्न पाउनेछन् । यसअघि अघिल्लो पटक प्रधानमन्त्री भएका बेला २०७८ साल वैशाख ११ गते केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update