News 24 Television
सहकारी ठगी प्रकरण : रवि र गगनमध्ये जीत कस्को ? 

काठमाडौं । पछिल्लो विकसित र युवा राजनीतिमा सबैभन्दा प्रतिस्पर्धा देखिएकामध्ये दुई पात्र हुन् रवि लामिछाने र  गगन थापा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा गठन गरेका रवि सबै दलहरुका लागि चुनौतिको रुपमा खडा भइरहेका छन् । उता गगन पनि ठूलै विरासत बोकेको नेपाली काँग्रेसको महामन्त्रीजस्तो महत्वपूर्ण पदमा छन् ।

वर्तमान राजनीतिमा यी दुवै पात्रको महिमा उत्तिकै छ । तर भर्खरै राजनीतिमा आएका रवि संसदमा चौँथो दलको नेताका रुपमा प्रतिनिधित्व गर्छन् । 

उता काँग्रेस पहिलो दल भएपनि संसदमा गगनको ठूलै प्रभाव पार्ने ल्याकत छैन । त्यस्तै छोटो समयमै दुई दुई पटक गृहमन्त्री बनेका रवि राजनीतिमा गगनभन्दा केही हदसम्मसफल देखिन्छन् । यस कारण पनि रवि–गगनबीच राजनीतिक टकराव चल्ने गरेका छन् । 

रवि–गगनबीच सहकारी प्रकरणमा उच्च स्तरकै टकराव चल्यो । सहकारीबाट निवेदन नै दिएर रकम माग गरिएको आरोप लगाउँदै यथेष्ठ प्रमाण रहेको दावी गरेका गगनसामु रविले आफू दोषी प्रमाणित भए राजनीति छोड्ने र नभए गगनले छाड्नुपर्ने शर्त राखे । यो शर्तलाई गगनले पनि स्वीकार गरेका थिए । 

संसदीय छानविन समितिले नै वयान लिइसकेपछि पनि रवि–गगनविच दोहोरी चल्यो । वयानपछि संसदीय छानविन समितिले आफूविरुद्ध प्रमाण नभेटेको अभिव्यक्ति दिएका रविलाई गगनले संसदबाटै जवाफ फर्काए । 

तर भर्खरै संसदमा बुझाइएको छानविन समितिको प्रतिवेदनमा सहकारीको रकम लिनका लागि रविले निवेदन नै दिएको भन्ने उल्लेख छैन । तर गैरकानूनी ढंगबाट गोरखा मिडिया प्रालिमा आएको सहकारीको रकम खर्च गरेवापत संचालकहरुलाई कारवाही गर्न समितिले सिफारिस गरेको छ । 

रवि पनि तत्कालीन गोर्खा मिडिया नेटवर्कका प्रबन्धक हुन् । तर यस प्रतिवेदनलाई लिएर रविले भने आफू निर्दोष सावित भएको आशाय व्यक्त गर्दै रास्वपालाई फसाउने योजना विफल भएको दावी गरिरहेका छन् ।  

रास्वपाका अन्य नेताहरुले पनि छानविन समितिले क्लिन चिट दिएको अभिव्यक्ति दिँदै रवि निर्दोष भएको टिप्पणी गरिरहेका छन् । 

समितिको प्रतिवेदन र रास्वपा सांसदहरुको यो तर्कले सहकारी प्रकरणमा रवि दोषी रहेको जिकिर गर्दै आएका गगनमाथि गम्भीर प्रश्न खडा भएकोे थियो । 

संसदमै दावी गरेजस्तो सहकारी ठगीमा रविको पृष्ठभूमी नजोडिएपनि गैर कानूनी ढंगबाट आएको रकम खर्च गरेवापत कारवाही सिफारिस भएकोबारे गगनको तत्काल कुनै प्रतिकृया दिएनन् ।  तर चौतर्फी प्रश्न र आलोचनापछि गगनले रविमाथि बाहिरै बसेर ठगी गरेको भन्दै मुख खोलेका छन् । 

यसरी संसदीय छानविन समितिको प्रतिवेदलाई रास्वपा र गगनले आ–आफ्नै स्वार्थगत कोणबाट व्याख्या गरिरहेका छन् ।

मुख्यगरी यो प्रतिवेदनले रविले आफूलाई निर्दोष दावी गरेको विषयलाई पनि पुष्टि गर्न सकेको छैन । अर्कोतर्फ गगनले निवेदन नै दिएर सहकारीबाट रकम लिएको भन्दै रविमाथि लगाएको आरोपलाई पनि पुष्टि गर्दैन । 

यस प्रकरणमा दुई नेताहरुबीच हार र जीतको निर्णयक निश्कर्ष संसदीय छानविन समितले स्पष्ट रुपमा दिन सकेको छैन । बरु गगन र रवि दुवै राजनीति नै छाड्नेसम्मको शर्त पेश गरेर तथ्यभन्दा बाहिर गई एकअर्काबीच जुधेका विषयलाई स्पष्टसँग उजागर गरिदिएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update