News 24 Television
अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल समाज चाहिँदैन

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल समाज नचाहेको बताएका छन् । बिहीवार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पाका उमेरकाले तन्नेरीलाई स्नेह गर्ने, युवा वयस्कले ज्येष्ठ नागरिकहरूको सम्मान गर्ने नमूना समाज देशले चाहेको बताए । शान्त, सभ्य र सुसंस्कृत, सुखसहितको समृद्धिको समाज आफूहरुले चाहेको बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, स्वस्थ प्रतिष्पर्धासहितको व्यवस्था भएको भन्दै सबैलाई अधिकार, अवसरमा समान पहुँच, समानता, सामाजिक न्याय, सुरक्षा र मर्यादा सहितको लोकतन्त्र रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘हामीले चाहेको समाज अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल होइन । पाका उमेरकाले तन्नेरीलाई स्नेह गर्ने, युवा वयस्कले ज्येष्ठ नागरिकहरूको सम्मान गर्ने नमूना समाज हो । यस्तो नमूना समाज– जुन शान्त, सभ्य र सुसंस्कृत हुनेछ । जहाँ सुखसहितको समृद्धि हुनेछ । हामीले अपनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, स्वस्थ प्रतिष्पर्धासहितको व्यवस्था हो । त्यसैले, सबैलाई अधिकार, अवसरमा समान पहुँच, समानता, सामाजिक न्याय, सुरक्षा र मर्यादा सहितको लोकतन्त्र, हाम्रो लोकतन्त्र हो । सुशासन अर्थात कानूनी राज, पारदर्शिता र उत्तरदायित्व हाम्रो लोकतन्त्रको अभिन्न शर्त हो । वसुधैव कुटुम्बकम, सदियौंदेखि हामीले भन्दै र सुन्दै आएको आदर्श वाक्य हो । हामी नेपाली सिङ्गो विश्वलाई एक परिवार मान्छौं । सबैलाई दाजुभाई, दिदीबहिनी मानी हाम्रो वैदेशिक सम्बन्ध कायम राख्छाैँ । सबैसँग मित्रता छैन कसैसँग शत्रुता, हाम्रो विदेश नीतिको मर्म हो । हामी हाम्रा छिमेकीसँग असल छिमेक सम्बन्ध राख्छौँ । संसारभरिकै सबै मित्र राष्ट्रहरूसँग पारस्परिक सम्बन्ध कायम गर्न चाहन्छौं । मैले पहिले नै भनिसकेको छु हाम्रो राष्ट्र बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय राष्ट्र हो । हामी सबै मिलेर सबै जात जाति,भाषा संस्कृतिको रक्षा, प्रवद्र्धन र विकासबाट राष्ट्र बन्छ, देश बन्छ । हाम्रो राज्यव्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो । यो कुनै वंशको निरङ्कुश शासनको निरन्तरता होइन, जनताले आफ्नो शासक आफैँले छान्ने विधिद्वारा परिचालित प्रगतिशील प्रणाली हो । अब यो पछाडि फर्किंदैन । यो अन्यायी राज्यव्यवस्था अन्त्य गरी हामी जनता आफैँले सिर्जना गरेको नयाँ राजनीतिक व्यवस्था हो । यस व्यवस्थालाई बलियो बनाउनु र यसको पक्षमा उभिनु हामी सबैको परम कर्तव्य र दायित्व हो ।’

प्रधानमन्त्री ओलीले नेपालीले अब प्राप्त अधिकारको रक्षा र कार्यान्वयनको लडाईं लड्नुपर्ने समेत बताए । उनले राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिको लागि लड्नुपर्ने बताएका हुन् । एउटा युवाले देशभित्रै रोजगारी पाउने, एउटा श्रमिकले मर्यादित काम पाउने, प्रत्येक नागरिकलाई स्वास्थ्योपचारमा समान पहुँच, ओत लाग्ने ठाउँ नभएर कुनै नागरिकले आकाशतिर हेर्न नपर्ने अवस्था सिर्जना गर्नेगरी सरकारले काम गर्ने प्रतिबद्धता समेत  । आफू नेतृत्वको सरकार बालबालिका सडकमा नभएर विद्यालयमा भेटिने, किसानले कृषि उपजको बजार र मूल्य पाउने, अपाङ्गता भएका नागरिकले सम्मानपूर्वक बाँच्न पाउने, राज्य बुढेसकालको सहारा बन्नुपर्ने र कमजोर र असहायहरुको आड-भरोसा बन्नेतिर केन्द्रित रहेको उनकाे भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update