
काठमाडौँ । आइसिसी विश्वकप लिग–टु त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको छ । लिग–टूको त्रिकोणानत्मक एक दिवसीय सिरिजका लागि क्यानडा भ्रमणमा रहेको नेपालको यो लगातार दोस्रो हार हो ।
पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । ओमानविरुद्धको खेलमा गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपालको हार टरेन ।
दुई सय २१ रनको लक्ष्य पछ्याएको ओमानले ४९ ओभर ५ बलमा ९ विकेट गुमाउँदै पूरा गर्यो । टस हारेर पहिले ब्याटिको मौका पाएको नेपालले नौ विकेटको क्षतिमा २ सय २० रन बनाएको थियो ।
कमजोर सुरुआत गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६० रन बनाएका थिए । यस्तै गुलसन झाले ५३ रनको योगदान दिएका थिए ।
यो हारले प्रतियोगितामा नेपालको खराव प्रदर्शनको क्रम कायम रह्यो र टिममाथि अत्याधिक दबाब पनि सिर्जना भएको छ । नेपालले अहिलेसम्म खेलेका छ खेलमा यो पाँचौं हार हो र टिम आठ टिममध्ये सातौं स्थानमा छ ।
ओमान पाँच अंकसहित छैटौं स्थानमा छ । नेदरल्यान्ड्स ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका लिग– टूको साथ शीर्ष स्थानमा छ । नेपालले अब आइतबार क्यानडा र मंगलबार ओमानसँग खेल्नेछ ।