News 24 Television
आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । संविधानसभाबाट संविधान जारी भएको नौ वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । 

दिवसका अवसरमा आज संविधान दिवस मूल समारोह समितिले काठमाडौंमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति  रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ । 

समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने मूल समारोह समितिले जनाएको छ । त्यस्तै, सरकारी तथा निजी क्षेत्रहरूले पनि विभिन्न कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउने तयारी गरेका छन् । संविधान दिवसकै खुशीयालीमा नागरिकस्तरबाट काठमाडांैको दरबारमार्गमा राष्ट्रिय दिवस साङ्गीतिक प्रस्तुति हुनेछ । 

नौ वर्षअघि २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । यद्यपि, जारी संविधान सर्वस्वीकार्य हुन सकेको छैन । पछिल्लोपटक संविधान संशोधनको बहस भइरहेको छ । सुरुदेखि नै संविधान विभेदकारी भएको भन्दै मधेसवादी, आदिवासी जनजातिलगायत रुष्ट छन् । संविधान नेपालको मूल कानून हो । तर यसको कार्यान्वयन पक्ष फितलो भएको भन्दै प्रश्न उठ्दै आएको छ । संविधान जारी भएपछि देशमा विकास र समृद्धि आउने आशा र अपेक्षा गरिए पनि त्यसअनुसारको काम हुन सकेको छैन । 

राजनीतिक प्रणाली फेरिए पनि शासकको प्रवृत्ति फेरिन नसकेको भन्दै नागरिक निराश छन् । यसैबीच संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरूले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आम–जनसमुदायलाई आह्वान  गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update