News 24 Television
सर्लाहीका विकट गाउँमा यातायात समस्या, बजार जान घण्टौ हिड्नु पर्ने 

सर्लाही । सलाहीको लालबन्दी नगरपालिकाको दुर्गम गाँउ नारायणखोलामा असारदेखी यातायात ठप्प छन् । बाढीले खोलाको बाटो बिगारेपछि जिल्लाको चुरे भेगस्थित विकट क्षेत्रमा पर्ने नारायण खोला, शीर कालिञ्जोर, पिपल दमार लगायतका क्षेत्रमा यातायातका साधन अवरुद्ध भएका हुन् । यातायात नचल्दा दुर्गम भेगका स्थानीय किनमेलका लागि बजार र औषधोपचारका लागि अस्पतालसम्म जान घण्टौं पैदल हिँड्न बाध्य छन् । 

बर्खायाम सुरु भएसँगै सर्लाहीको उत्तरी चुरे भेगका गाँउमा यातायातको सेवा ठप्प भएको छ ।  सडक सञ्जालमा नजोडिएको चुरे भेगका दुर्गम गाउँ नारायण खोलामा हिउँदयाममा खोलाको बगरबाटै भएपनि बसहरु चल्ने गरेका थिए । तर खोलामा बाढी आउन सुरु भएसँगै लालबन्दी बजारबाट चुरे भेगमा जाने बसहरु बन्द भएका हुन् । 

नारायणखोला पुग्न लालबन्दी बजारदेखि पत्थरकोटसम्म सडक पुगेको छ । जिल्लाको ईश्वरपुर नगरपालिका र लालबन्दी नगरपालिकाको चुरे भेगमा बर्खायाममा बर्सेनी यस्तो समस्या हुन्छ । गाडी नचल्दा बिरामी परेका बेला समस्या हुने गरेको छ । गाउँमा कोही बिरामी परे वा सुत्केरी भए झोलुङ्गोमा बोकेर स्वास्थ्य चौकी पु¥याउनुपर्ने बाध्यता छ । 

चुरे भेगका स्थानीयवासीको मुख्य बजार लालबन्दी हो । नारायण खोलावासी दशैँ नजिकिरहेका बेला बस सञ्चालन नहुँदा निरास बनेका छन् । गाडी नचल्दा अहिले नारायण खोलाको माथिल्लो भेगका वासिन्दा लालबन्दी बजारसम्म आउन चार÷पाँच घन्टासम्म पैदल हिँड्नुपर्छ । पत्थरकोटदेखि लालबन्दीसम्म टेम्पु लगायतका अन्य सवारी चले पनि गाउँबाट पत्थरकोटसम्म आइपुग्न चार घन्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । 

चुरे क्षेत्रवासीलाइ अहिले घाँस दाउरा मेलापात गर्न समेत अप्ठ्यारो परेको छ ।  बर्षा भएसँगै पिउने पानीको मुहान बाहिरी पानी पसेर दूषित भएको छ । खोलाको बगर बाहेक चुरेका निकै ठूल्ठूला पहाड मात्रै रहेकाले पनि नारायण खोलासम्म सडक पु¥याउने काम भइरहेपनि सुगम जत्तिको सहज नभएको वडा अध्यक्ष छेनाम घिसिङ बताउँछन् ।  

लालबन्दी नगरपालिकाको अति दुर्गम र विकासको मुख नदेखेको नारायण खोला ५० दशमलव १४ वर्ग किलो मिटरको रहेको छ । खोलाको बगरबाट आउजाउ गर्नुपर्ने नारायणखोला क्षेत्रमा वर्षायाममा खोला बाढी आउँदा पैदल यात्रा गर्न पनि सकिदैन । 

नारायण खोलाबाहेक चुरे क्षेत्रका ईश्वरपुर नगरपालिका–१२ र लालबन्दी नगरपालिका– १५ र १४ का चूरे भेगका बस्तीहरु नारायणखोला, कामीटार, डाइनी शिर, मगने खोला, लखन्ती शिर, तोरीबारी पीपलदमार, भित्रीखोला, गुइडुङ, लामिदमार, सिस्नेखर्कमा समेत बर्खायाम सुरु भएसँगै यातायात ठप्प छन् । 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update