News 24 Television
सिमामा सशस्त्र प्रहरीको सक्रियता, लागूऔषध सहित दुईजना पक्राउ

झापा । झापामा सशस्त्र प्रहरीको टोलीले लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ। पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागूऔषध चुनौतीको रुपमा देखा पर्दै गएपछि झापामा सशस्त्र प्रहरीले त्यसतर्फ समेत सक्रियता बढाएको छ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बा झापाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक निर्मल कुमार कटुवालको कमान्डमा खटिएको ६ जनाको टोलीले ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कमल गाउँपालिका–७ बस्ने  २५ वर्षीय सन्देश लिम्बू र सोही ठाउँका  ३६ वर्षीय पूर्णबहादुर लिम्बू रहेका छन् । उनीहरूलाई झापा गाउँपालिका १ लसुना सीमाबाट पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

मंगलवार बेलुका ७ः५० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको मे ५ प ७८४० नम्बरको स्कुटरलाई शंका लागेर खानतलासी गर्ने क्रममा स्कुटरको भाइजरमा लुकाएर ल्याएको अवस्थामा ९.७९० ग्राम ब्राउनसुगर फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाका निमित्त गणपति एवम् सुचना अधिकारी डीएसपी सुमन पोख्रेलले जानकारी दिए ।

उनिहरुको साथबाट ब्राउनसुगर ९.७९० ग्राम, भिभो मोबाइल १ थान, सामसुङ मोबाइल १थान, सयको नोट २ थान र ५० को नोट १ थान सहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि इप्रका कुमरखोदमा बुझाइएको छ।

सशस्त्र प्रहरीले पछिल्लो समय लागूऔषध तथा अवैध पैठारी रोक्नका लागि केही सिमानाकाहरुमा तालिम प्राप्त कुकुर सहितको चेकजाँच टोली समेत खटाएको छ।
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update