News 24 Television
करोडौं खर्चेर बजार बनाइयो, अहिले अलपत्र !

झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको कृषि बजार प्रयोगविहीन बनेको छ ।सङ्घीय सरकारले एक करोड ६८ लाख रुपैयाँ खर्च गरेर बुद्धशान्ति–४ स्थित टिमाइ खोलाको किनारमा कृषि बजार बनाएको हो । निर्माण सम्पन्न भएको दुई वर्ष भएपनि बजार सञ्चालनमा ल्याइएको छैन ।

झापाको बुद्धशान्ति गाउँपालिकामा बनाइएको कृषिबजार स्थल प्रयोगविहीन बनेको छ । स्थानीय उत्पादनको बजारीकरणका लागि संघीय सरकारले झन्डै दुई करोड खर्च गरेर यो संरचना निर्माण गरेको थियो । तर, निर्माण सम्पन्न भएको दुई वर्ष हुँदा समेत कृषिबजार सञ्चालनमा ल्याइएको छैन । 

यस स्थानमा अहिले कृषि बजारका लागि १२ सटरसहितको कोठा, एउटा मण्डी, घेराबेरा र सार्वजनिक शौचालय निर्माण गरिएको छ । राज्यको करोडौं रकम लगानी भई निर्माण समेत सम्पन्न गरिसकेको अवस्थामा पनि अझै कृषि बजार सञ्चालनमा नल्याउनुले राज्यकोषको दुरुपयोगको अवस्था देखिन्छ । 

स्थानीय क्षेत्रमा राज्यले करोडौंको लगानीमा कृषि बजार सञ्चालन गर्ने भएपछि रोजगारीदेखि स्थानीय उत्पादनको बिक्रि तथा यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने देखिन्छ ।  तर, जनप्रतिनिधिको उदासिनताका कारण बजारस्थल सञ्चालनमा आउन नसकेको स्थानीयबासीको आरोप छ ।

यता बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले कृषि बजार सञ्चालनका लागि पटकपटक सूचना प्रकाशित गर्दा कोही भाडामा लिन नआएपछि समस्या भएको बताउँछन् । 

स्थानीय सङ्घसंस्था, बजार व्यवस्थापन समिति, सहकारीलाई सो स्थान सञ्चालनका लागि सूचनामा प्रकाशित गरेको मूल्यभन्दा २५ प्रतिशत छुटमा दिने पालिकाकाले निर्णय गर्दा समेत सञ्चालन हुन नसकेको अध्यक्ष प्रसाइको भनाई छ ।

भूटानी शरणार्थीलाई संयुक्त राष्ट्रसङ्घले तेस्रो मुलक आप्रवाशनमा लगेपछि खाली रहेको जग्गा मध्ये करिब एक बिघा जमिनमा तरकारी बजार सञ्चालनका लागि घेराबारासहितको पक्की संरचना निर्माण गरिएको हो । बुद्धशान्ति गाउँपालिका तरकारी उत्पादनका लागि झापामै अग्रणी मानिन्छ ।

यहाँ उत्पादित तरकारी मेचीनगर, विर्तामोड र दमक लगायतका सहरमा बिक्री हुने गरेको छ । तरपनि यहाँको बजार सञ्चालनमा आउन सकेको छैन । करोडौं लगानीमा बनेका संरचना यसरी अलपत्र अनि प्रयोगविहीन बनाउनु भन्दा सरकारले वैकल्पिक प्रयोगमा ल्याउने तर्फ ध्यान दिने कि ? 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update