News 24 Television
रास्वपा–रविको भ्रम छर्ने षड्यन्त्र, अन्य नेताको पनि मनलाग्दी 

काठमाडौं । राजनीति सङ्ग्लो भए समाज सङ्ग्लो हुन्छ । राजनीति सहि भए, समाज सहि हुन्छन् । तर, राजनीति नै दाउपेचको खेलमा जुट्दा समाज तहसनहस हुने खतरा रहन्छ । नेपालमा बेलगाम ढंगले राजनीति अघि बढ्दै गर्दा बिग्रिएको माहोललाई नेताहरुले थप बिगार्न थालेका छन् । 

काम गर्न नसक्ने तर दोष जति अरुलाई थोपर्ने ! नेपालको राजनीतिक परिवेशमा यस्तै उछलकुदले समाज भड्किने खतरामा पुगेको छ । 

राजनीतिक दलहरु सत्यलाई स्वीकार नगर्ने र भ्रम छर्न तम्सिने गर्नाले संविधानदेखि प्रणाली र फालिसकेको राजतन्त्रको समेत शिकार बनिरहन्छन् । सहकारी वचत रकम अपचलनको प्रकरणले यो विषय थप सतहमा आएको छ । 

सहकारी ठगीबारे संसदीय छानविन समितिले प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी संस्थागत रुपमै सत्यलाई ढाकछोप गर्दै आफ्ना कमजोरी लुकाउने काम गर्न लागि परेको देखिन्छ । रविलाई संसदीय समितिले क्लिन चिट दिएको भन्दै तथ्य लुकाउँदै गलत र भ्रम छरेर रास्वपाका नेताहरुले राजनीतिक खेलोफड्मा जोडबल गरिरहेका छन् । 

रास्वपाले जस्तै भ्रम छर्ने कामका लागि बेलगाम बोल्न अन्य दलका नेताहरु पनि कम  छैनन् । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि यसरी नै सरकारलाई आरोपित गरिरहेका छन् । आफू नेतृत्वको सरकार ढाल्दा भ्रष्टाचारी जोगाउने काम चलेको प्रचण्डले दाबी गरिरहेका छन् । 

माओवादीले निरन्तर गिरीबन्धु प्रकरणमा प्रधानमन्त्री केपी ओलीलाई जोड्न खोजिरहेको देखिन्छ । तर, प्रचण्डले गिरीबन्धि प्रकरणमा के कारण थियो ? तथ्य के थियो भन्ने विषय भन्दा पनि सार्वजनिक रुपमा उठेका प्रश्नलाई नै साहारा लिएको देखिन्छ । 

भ्रम छर्न सिपालु केपी ओली

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मात्रै होइन  प्रधानमन्त्री केपी ओली पनि बेलगाम बोलेर भ्रम छर्न कम छैनन् । अनेक टिप्पणी गर्ने र शब्द चयनको तल्लो स्तरसम्मै झर्ने नेताको शीर्ष सूचीमा पर्छन् केपी ओली । कहिले काठमाडौं महानगरपालिकाका प्रमुख त कहिले पूर्वराजाबारे टिप्पणी गर्दै रमाइलो गर्छन् उनी । 

आफूलाई विकासको संवाहक ठान्ने प्रधानमन्त्री ओली नेपालको शिक्षा क्षेत्रमा भइरहेको कमजोरीमा राजाको दोष देखाउने काममा सक्रियता देखिन्छ । विश्वका धेरै मुलुकले २० वर्षमा ठूलो छलाङ मारेका थुप्रै उदाहरण हुँदा पनि ओलीले अहिले पनि १८ वर्ष पहिले शासनमा रहेका राजालाई दोष थोपारिरहेका छन् ।

बेलगाम बोली बोल्ने नेताहरुको सूचीमा यतिमात्रै होइनन् । कम बोल्ने कांग्रेस सभापति शेरबहादुर देउवा पनि झनक झनक झोक्किने र आवेग भावमा पेश हुने गर्छन् । कहिले व्यापारीले सरकार बनाउन ठूलो मदत गरे भनिदिन्छन् त कहिले विरोध गर्नेविरुद्ध हप्काउने गरिदिन्छन् । 

यसरी दलका नेताहरु बेलगाम बोल्ने र समाजलाई भड्काउने काममा तीब्र रुपमा सक्रिय बन्न थालेको देखिन्छ । पुराना र लोकतन्त्रका लागि लडेका दल र नेता हुन् वा अन्य नयाँ दल र नेताहरु नै किन नहुन, बेप्रवाह अभिव्यक्ति दिने कारण मुलुकको सार्वजनिक छवी नै धुमिलिन थालेको देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update