News 24 Television
तलबभत्ता नै जनताका नाममा सुम्पिने गाउँपालिका अध्यक्ष !

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले आफ्नो तलब भत्ता वापत्को रकम सामाजिक सेवामा खर्च गर्दै आएका छन् । तलब जम्मा गर्नका लागि उनले आफ्नो व्यक्तिगत बैंक खाता प्रयोग नगरी अध्यक्ष सामाजिक सुरक्षा कोष खडा गरेका   छन् । 

यसै कोषबाट विभिन्न क्षेत्रमा सामाजिक सेवा गर्दै आएका गाउँपालिका अध्यक्षले आफ्नो तलब भत्ता वापत्को रकमले मनहरीकै एकल महिलालाई घर बनाइदिएर हस्तान्तरण गरेका हुन् । 

अध्यक्ष कालाखेती २०७९ बैशाखको स्थानीय तह निर्वाचनमा होमिदा उनको चुनावी ऐजेण्डा थियो, ‘अध्यक्ष पदमा निर्वाचित भएपछि राज्यकोषको रकम आफूले नलिएर जनताको सेवामा खर्च गर्ने ।’ सोही एजेण्डालाई मूर्त रुप दिएका गाउँपालिका अध्यक्ष कालाखेतीले आफ्नो तलब भत्ता वापतको रकमले मनहरी गाउँपािलका ५ बसन्तपुरकी सोनी राईलाई एककोठे घर निर्माण गरेर हस्तान्तरण गरेका हुन् ।

विगत ८ बर्ष अघि श्रीमानको मृत्यु भएपछि एक्लै सानो छाप्रोमा जीवनयापन गर्दै आएकी उनलाई अध्यक्ष कालाखेतीले घर निर्माण गरिदिएका हुन् । लामो समय घामपानी समेत नछेक्ने छाप्रोमा बस्दै आएकी सोनी अध्यक्षको खर्चमा घर बनाइदिए पछि दंग छिन् । 

सोनुलाई ओत लाग्ने घर नभएको र आफै बनाउन सक्ने अवस्था नभएको भन्दै उनका छिमेकीहरुले अध्यक्ष कालाखेति समक्ष जानकारी गराएका थिए । उनीहरुको पहलबाटै घर बनाएर राख्न सहज भएको स्थानीय बताउँछन् । 

२ लाख रुपैंया भन्दा बढी लागतमा निर्माण भएको घरको खर्च सबै आफ्नो तलब भत्ता वापतकै रकम भएको गाउँपालिका अध्यक्ष कालाखेतीको दाबी छ । 

सरकारी सवारी समेत प्रयोग नगरेका गाउँपालिका अध्यक्ष कालाखेतीले यसअघि तलब वापतको रकम विपन्न परिवारका लागि उपचारमा सहयोग, विभिन्न चाडपर्वमा रासन सामग्री हस्तान्तरण जस्ता कार्यहरुमा खर्चिएका थिए । 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update