News 24 Television
देउवा–गगनको एकै स्वर, भित्रभित्रै यस्तो तयारी !

काठमाडौं । नेपाली कांग्रेसमा घोषित गुट र घेराबन्दी लुकेको विषय होइन् । कांग्रेसमा संस्थापन पक्षले इतर पक्षलाई पेलेर जाने चलन पनि नयाँ होइन । तर, आन्तरिक रुपमा जति विवाद गरेपनि उनीहरु खास समयमा भने मिलेर प्रतिवादमा उत्रिन थाल्छन् । यसको पछिल्लो उदाहरण हो, दुवै नेताको स्वार्थ मिल्ने देखिएपछि देखिएको मिलाप । 

कांग्रेसमा गुटहरु प्रष्ट छन् । घोषित गुटले निश्चित हिस्सेदारी लिने र त्यसलाई पारदर्शी बनाउनुपर्ने माग पनि छताछुल्ल हुन्छ । तर, पछिल्लो समय स्वार्थ मिल्ने देखिएपछि नेताहरुको बोली मिल्न थालेको छ । 

बोलीमात्रै मिलेको देखिन्न, उनीहरु मिलिजुली अघि बढ्ने गरि काँध मिलाउन त खोजेका होइनन भन्ने प्रश्न उठेका छन् । रास्वपाका सभापति रवि लामिछानेका नाममा देउवा र थापाको मिलन देखिएको हो । 

रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा संलग्न भएको कुरा पहिले आफुलाई विश्वास लागेको थिएन तर, रवि यस्ता काममा लागेका रहेछन् भन्दै देउवाले यो विषय उजागर गर्ने कांग्रेस महामन्त्री थापालाई धन्यवाद दिए । 

देउवाको यो प्रशंसामा राजनीतिक स्वार्थ भने मज्जाले मिसिएको छ । देउवालाई आगामी दुई वर्षपछिको प्रधानमन्त्री भन्दै गगनले देउवाको चाहनामा सहायता प्रदान गरेका छन् । यसले देउवालाई खुशी मिलेको छ ।

राजनीतिक जीवनको उत्तरार्द्धमा रहेका देउवा कुनैपनि हालतमा अब प्रधानमन्त्री बनेरै छाड्ने दाउमा छन् । देउवाले अब त्याग गर्दै प्रधानमन्त्री बन्न नहुने आवाज उठ्दामात्रै पनि झोक्किने देउवालाई गगनले अबको दुई वर्षपछिको प्रधानमन्त्री भनि प्रधानमन्त्रीको ट्याग दिनु राजनीतिक अर्थमा सामान्य विषय हुने कुरै भएन् । सँगसँगै गगनले आफ्नो भावि राजनीतिक भविष्यका लागि देउवाको राजनीतिक सहायता पनि प्राप्त गरिरहेका छन् । गगनले तयार गरेको प्रतिवेदनमा देउवाको देखाएको लचकता यसको उदाहरण हो ।

मिलाप र फसाद

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समकालीन नेता हुन् । गगनभन्दा विश्व सिनियर नेता समेत हुन् । तर, गगनले छिटो छलाङ मार्ने गरि राजनीतिक गतिविधि अघि बढाइरहेका छन् । 

गगन–विश्वप्रकाशले पार्टी बैठकमा प्रतिवेदन पेश गर्दा नै विद्रोहको ज्वाला लागिदिने गरेको देखिन्छ । चुनावी सत्ता गठबन्धन नगर्नेदेखि एक्जिट पोलिसीसम्म आइपुग्दा विश्वप्रकाश देउवाबाट टाढा पुगिसकेका छन्। विश्वप्रकाशले देउवालाई निरन्तर त्याग गर्नुपर्ने र अब प्रधानमन्त्री बन्न नहुने आवाज उठाइरहेका छन् । केन्द्रिय समितिमा नै विश्वप्रकाशले यस्तो प्रस्ताव राखेपछि विवाद नै चलेको बताइन्छ । 

त्यसपछि विश्वप्रकाशले सार्वजनिक रुपमा समेत प्रधानमन्त्री कति पटक बन्ने भन्ने विषय प्रष्ट हुनुपर्नेमा उनले जोड दिइरहेका छन् ।

विश्वप्रकाशले यस्तो जिकिर गरिरहँदा गगनले भने विस्तारै कूटनीतिक रुपमा देउवासँग साथ प्राप्तिको लय मिलाउदै गएका छन् । 

गगनले विस्तारै देउवालाई नजिक ल्याउने गरि अभिव्यक्ति दिइरहेका छन् भने पार्टी पंक्तिलाई आफ्नो लयमा उभ्याउने प्रयासलाई तीब्र पारिरहेका छन् । 

गगनलाई अघि बढ्दा सहयोग गर्नेदेखि प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने जिकिर सार्वजनिक रुपमै गर्ने विश्वलाई गगनले पछिल्ला दिनहरुमा धोका दिए वा पार्टी सत्ता नियन्त्रणमा लिने तयारी गरे त्यो विस्तारै खुल्दै जानेछ ।

देउवाको स्वार्थ

कांग्रेस सभापति शेरबहादुर देउवा पनि पार्टीमा आफ्नो रिटायरमेन्टपछिको विकल्पको खोजीमा छन् । देउवाले उत्तराधिकारी ठानेका नेताहरु विभिन्न गम्भीर आरोपमा डामिनु र केहिलाई विश्वास गर्न नसक्नुले उनी नयाँ खोजीमा देखिन्छ । पत्नी आरजु राणा देउवालाई पनि पार्टीमा स्थापित गराउने ध्याउन्नमा रहेका देउवाले आफूलाई फाइदा पुग्ने देखिए, राजनीतिक कोल्टे फेर्नेमा शंका छैन् । 

यसका लागि देउवाले फालेको जालमा नेताहरुको तछाडमछाड शुरु भएको विश्लेषण कांग्रेसवृत्तमा हुन थालेको छ । गगन थापा पार्टी नेतृत्वका लागि तयार देखिन्छन् । 

गगनले यस्तो तयारी गर्दै गर्दा इतर पक्षमा सहमति जुट्ने सम्भावना छैन् । शेखर कोइरालादेखि शशांक कोइरालासम्मका नेताहरु नेतृत्व हत्याउने दौडमा देखिन्छन् । यस्तोमा गगनले पनि नयाँ बाटो खोज्न थालेको स्थिति छ । 

गगनले देउवालाई नजिकबाट सहयोग र बोलीमा बोलि मिलाउनेक्रम अब थपिने विश्लेषण हुन थालेको देखिन्छ । तर, के यो स्थिति लामो समयसम्म चल्न सक्ला् ? देउवाले खोज्ने वैकल्पिक नेतृत्वमा गगन पर्लान् ? यस्ता विषयको निक्र्यौल पनि देउवा पत्नी आरजुको निर्णयमा धेरैहदसम्म निर्भर हुनेछ । 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update