News 24 Television
संसदीय समितिको प्रतिवेदनबारे रास्वपाको अपब्याख्या

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी प्रकरणमा दोषि कि निर्दाेष भन्नेमा बहस केन्द्रित छ । रास्वापाका नेता तथा समर्थकहरुले लामिछानेले क्लिन चिट पाएको बताईरहदाँ अन्य दल समर्थकहरुले भने छानबिन समितिको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको रकमको सम्बन्धमा रवि पनि जिम्मेवार रहने बताई रहेका छन् । 

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले रवि लामिछानेलाई निर्दाेष साबित गरेको रास्वपाका नेताहरुको दाबि छ । तर छानबिन समितिको प्रतिवेदनमा भने गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको ६५ करोड रुपैयाँ रकमको सम्बन्धमा रवि लामिछाने पनि जिम्मेवार हुने बताईएको छ ।  

समितिको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कमा शुरुदेखि अहिले सम्म समितिमा रहेका जिवि राई, रवि लामिछाने, छविलाल जोशि र कुमार रम्तेललाई कार्वाहिको सिफारिस गरेको छ । तर रास्वपाका नेताहरु भने सदनदेखि सडकसम्म नै रवि लामिछानेले क्लिन चिट पाएको दाबी प्रस्तुत गरिरहेका छन् । 

रास्वपाका नेता कार्यकर्ताहरुले रविले क्लिन चिट पाएको भनेता पनि उनले छानबिन समितिबाट क्लिन चिट पाएका भने होइनन् । रविकै संलग्नतामा सहकारीको बचत रकम गोर्खा मिडियामा ल्याएको भन्ने आरोपमा भने प्रमाण नपुगेको प्रतिवेदनले स्पष्ट गरेको छ । 

जीवीले सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम ल्याउँदा रबि पनि मिडियाको सञ्चालक समितिमा रहेकाले उनी पनि जिम्मेवार हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ । छानबिन समितिले संसदमा पेश गरेको प्रतिवेदनलाई कार्यान्वयन गर्न सभामुखले निर्देशन गरि सकेकाले अब सोही प्रतिवेदनलाई आधार बनाएर कारबाही शुरु गर्ने सरकारको तयारी छ । 

रास्वपाका सांसद शिशिर खनाल पनि सदस्य रहेको समितिले एक सय दिन लगाएर तयार गरेको प्रतिवेदनअनुसार सहकारीको रकम प्रत्यक्ष रुपमा गोरखा मिडियामा नलगे पनि गोरखा मिडियामा गएको रकमको दायित्व रविको पनि भएको उल्लेख छ । र, सार्वजनिक भएको प्रतिवेदनको सारमा पनि जीवी र रविसहित ४ जनालाई कानूनअनुसार कारबाही गर्न प्रस्ताव नै गरिएको छ । तर रास्वपा सांसद खनालले समेत सहकारी ठगीमा रविले क्लिन चिट पाएको दाबी गरिरहेका छन् । 

रास्वपाका अन्य नेता कार्यकर्ताहरु पनि जीवीसँग सम्बन्धित अन्य ठगीको खोजी नगरी गोरखा मिडियामा मात्रै केन्द्रित भएर रविलाई फसाउने योजना भएको तर्क गरिरहेका छन् । 

सहकारीको रकम गोरखा मिडियामा मात्र नभई नेचर हब्स नामको नेटवर्किङ कम्पनीमा पनि जीवी मार्फत नै गएको छ । देशभर सहकारीको नेटवर्क बनाएर ठगीमा संलग्न भनिएका जीवीले समग्र सहकारीबाट ६ अर्ब अपचलन गरेको जनाइएको छ । 

शिवशिखर सहकारीका सञ्चालक एकै जनाले २२ अर्बसम्म अपचलन गरेको भेटिएको छ । तर रविसहित ४ जनालाई कारबाही गर्नु भन्ने समितिको प्रतिवेदनमै उल्लेख भएको हुँदा रास्वपाका नेता कार्यकर्ताहरुले पनि नागरिकको रकम अपचलन गर्ने जो कोहीलाई कारबाही गरियोस् भनी दबाब दिन जरुरी छ । 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update