News 24 Television
हिक्मतकुमार कार्कीले दुई तिहाईभन्दा बढी मत सहित विश्वासको मत प्राप्त गरे

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुई तिहाईभन्दा बढी मत सहित विश्वासको मत प्राप्त गरेका छन् । बुधबार कोशी प्रदेशसभाबाट उनले दुई तिहाई मतसहिते विश्वासको मत प्राप्त गरेका हुन् । कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ६६  मत प्राप्त भएको छ भने नेकपा माओवादी केन्द्र र राप्रपाका १५ जना सांसदहरुले विपक्षमा मतदान गरेका छन् । 

नेकपा एकीकृत समाजवादीका दुई जना सांसदहरुले मतदान प्रक्रियामा नै भाग लिएनन् । मतदानमा एमालेका बुद्धिकुमार राजभण्डारी र काँग्रेसका भीम पराजुली अनुपस्थित भए । सत्तापक्षमै बस्दै आएकी एक मात्र सांसद रहेको जसपा नेपालकी सांसद निर्मला लिम्बू पनि प्रदेशसभाको बैठकमा अनुपस्थित रहिन् । 

प्रदेशसभामा भएको मतदान प्रक्रियामा ८३ जना उपस्थित रहेका थिए । मुख्यमन्त्री कार्कीलाई एमालेका उपसभामुख सिर्जना दनुवारसहित ३८ र नेपाली काँग्रेसका २८ जनाले विश्वासको मत दिए ।

यस अघि उनले गत बैशाख  ३१ गते  बिश्वासको मत लिएका थिए । गतभदौ १४ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनले पुनःविश्वासको मत लिनुपरेको हो । 

विश्वासको मत प्राप्त गरेपश्चात मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफु अझै पनि सहमतिको सरकार बनाउन लागि परेको बताएका छन् । उनले राष्ट्रिय राजनीतिका कारण सहमतिको सरकार सम्भव नभएपनि प्रदेशप्रति जनताको आस्था र विश्वास अभिवृद्धिका लागि सहमतिको सरकार आवश्यक रहेको उनको भनाई छ । 

कोशी प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६ नेकपा, एकीकृत समाजवादिका ४ र जसपाका एक प्रदेशसभा सदस्य छन् । 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update