News 24 Television
आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष सुरू

काठमाडाैँ । आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष सुरू भएको छ । सोह्र श्राद्ध सुरू भएसँगै पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा श्राद्ध एवं पितृको नाममा तर्पण गर्नेहरुको भीड छ ।

बुधवार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहेको थियो । त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो । मुल वैदिक परम्पराअनुसारको तिथिपत्रमा पनि बुधवार नै प्रतिपदा उल्लेख छ । वैदिक परम्परामा तिथि टुट्दैन । एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सत्य सनातन हिन्दु परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिन्छ ।

सोह्र श्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनुका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update