News 24 Television
शान्ति र समृद्धिमा खेलकुदको भूमिका 

खेलकुद मानिसको शारीरिक एवम् मानसिक स्वास्थ्यका निम्ति अत्यन्तै महत्त्वपूर्ण रहेको छ। सामान्य अर्थमा मन बहलाउन, मनोरञ्जन गर्न वा व्यायामका लागि खेल्ने वा कुद्ने कार्य नै खेलकुद हो। यसले मानिसलाई फुर्तिलो र निरोगी बनाउनुका साथै अनुशासित बन्न पनि भूमिका खेलेको हुन्छ। यसले एकआपसमा मित्रता कायम गरी सहकार्य, सहयोग तथा मेलमिलाप बढाउन, समूहमा मिलेर काम गर्न सक्ने बनाउँछ। खेलकुदले मान्छेमान्छेबीच सामूहिक भावनाको विकास गराउँछ। खेलकुदले एकातिर प्रतिस्पर्धात्मक क्षमता बढाउँछ भने अर्कातिर आपसी भाइचारा, शान्ति र सद्भावनाको भाव जगाउँछ। त्यसैले खेलकुद मानव जीवनका लागि उपयोगी छ। 

शान्ति, समृद्धि र खेलकुद एकअर्कासँग गहिरोसँग जोडिएका छन् किनकि यी तीन वटै कुराले एकअर्कोको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछन्। खेलकुदले शारीरिक स्वास्थ्य र अनुशासनमा जोड दिन्छ। समूहमा खेल्दा सहभागी र दर्शकबीच एकता र सद्भावको भावनामा जोड दिन्छ। यो एकता र साझा उद्देश्यले समुदायमा शान्तिपूर्ण सहअस्तित्वको लागि काम  गर्न सक्छ। यसबाहेक शान्तिपूर्ण समाजले आर्थिक गतिविधिका लागि राम्रो वातावरण प्रदान गर्दछ जसले देशलाई विकासको बाटोतर्फ डोऱ्याउँछ। देशको विकास भएपछि खेलको गुणस्तर र सुविधा तथा अन्य कार्यक्रममा लगानी गर्न सक्छन्। 

खेलकुदका बारेमा थप चर्चा गर्नुअघि हामी सन् १९७१ मा के भयो भन्नेतर्फ ध्यान केन्द्रित गरौँ। सन् १९७१ मा चीन र संयुक्त राज्य अमेरिकाबीचको शीतयुद्धको समयमा "पिङ-पोङ कूटनीति" भनेर चिनिने खेलकुद क्षेत्रमा एउटा महत्त्वपूर्ण घटना भयो। यस कार्यक्रममा दुई देश बीचको टेबल टेनिस खेलाडीको सहकार्य समावेश थियो, जसले यी दुई राष्ट्रबीचको सम्बन्धलाई सुधार गर्न मद्दत गर्‍यो र तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनको सन् १९७२ मा चीनको ऐतिहासिक भ्रमणको लागि सहज बनायो। राष्ट्रपति रिचर्ड निक्सनको चीन भ्रमणपछि अमेरिका र चीनबीचको कूटनीतिक सम्बन्धमा उल्लेख्य सुधार आएको थियो। यो भ्रमणले दुई राष्ट्रबीचको शीतयुद्धको तनाव कम हुन थाल्यो र औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भयो। 

game-1726635402.jpg
 

सन् २००४ मा पाकिस्तानले एक क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो। यसमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुने तय भएको थियो। भारतले एक साधारण क्रिकेट खेलको लागि १५ वर्षमा पहिलो पटक पाकिस्तान भ्रमण गर्‍यो। यसले दुबै देशलाई मैत्रीपूर्ण प्रतिस्पर्धामा संलग्न हुन, क्रिकेटको माध्यमबाट एकता र सौहार्दताको भावनालाई बढाउन भूमिका खेल्यो। 

यस्ता विभिन्न तथ्य तथा घटना हेर्दा शान्ति र समृद्धि कायम गर्न खेलकुदको ठूलो महत्त्व रहेको कुरा प्रष्ट हुन्छ। अब खेलकुदका विषयमा थप चर्चा गरौँ। खेलकुद भनेको विभिन्न प्रकारका शारीरिक गतिविधिहरूको समूह हो। खेलकुद प्रतिस्पर्धा, मनोरञ्जन, व्यायाम वा कौशल विकासको लागि आयोजना गरिन्छ। केही मुख्य खेलहरूमा फुटबल, बास्केटबल, रग्बी, टेनिस आदि पर्छन्। खेलकुदको महत्त्व शारीरिक स्वास्थ्यमा मात्र सीमित छैन। खेलकुदले कसैको मानसिक स्थितिमा पनि सकारात्मक परिवर्तन ल्याउन सक्छ। जब हामी कुनै पनि खेल खेल्छौँ तब हाम्रो मन खुसी हुन्छ, हाम्रा दुःख र तनाव कम हुन्छन् र हाम्रो आत्मविश्वास पनि बढेर जान्छ। खेलकुदले हामीलाई सकारात्मक सोच राख्न सिकाउँछ। यसले हामीलाई जीवनमा कुनै पनि कठिनाइको सामना गर्न मद्दत गर्दछ। 

हामी खेलमैदानमा भएका बेला भेदभावको भावनाबाट मुक्त हुन्छौँ। हाम्रो धर्म, जात, संस्कृति, भूगोल, भाषा आदिले केही फरक पार्दैन किनभने खेलकुदले सबैलाई एकै थलोमा जोड्छ र सबैलाई समान अवसर दिन्छ। यसले मान्छेमान्छे बीचको समझदारी सिर्जना गर्न मद्दत गर्दछ जुन शान्ति कायम राख्नको लागि अत्यन्त जरुरी छ। 

खेलकुदले देशको अर्थतन्त्रमा पनि सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्छ। यदि कुनै राष्ट्रले कुनै खेलकुद कार्यक्रम आयोजना गर्छ भने त्यस देशको पर्यटनबाट राम्रो आम्दानी हुन्छ। घरेलु उद्योगहरूलाई बढाएर रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ र विदेशी मुद्रा भित्र्याउन सहयोग हुन्छ। उदाहरणका रुपमा कतारले आयोजना गरेको सन् २०२२ को फिफा विश्वकपलाई हेर्न सकिन्छ। सन् २०२१ मा कतारको जीडीपी १९४ बिलियन डलर रहेको बताइएको थियो। तर सन् २०२२ को  विश्वकपपछि पर्यटनमा भएको बृद्धिका कारण यो उल्लेखनीय रूपमा बढेर २२४ बिलियन डलर पुगेको थियो। त्यति मात्र होइन विश्वकपको तयारी र कार्यान्वयनका क्रममा करिब ३० देखि ४० हजार मानिसले रोजगारी पाएका थिए। सबैले कमाउने र जीविकोपार्जन गर्ने मौका पाएपछि समाजमा असमानता घटेर समता, विकास र शान्ति कायम हुन्छ।  

विद्यालय र विश्वविद्यालयहरूले पनि खेलकुदको विषयलाई आफ्नो पाठ्यक्रममा समावेश गर्नुपर्छ। सानैदेखि बालबालिकालाई यसको महत्त्व  बुझाउन सक्नुपर्छ। यसले पछि युवाहरूलाई सही बाटोमा लाग्न र शान्ति, समृद्धि कायम गरी आपसी समझदारी बढाउन मद्दत गर्छ। खेलकुदले युवाहरूलाई सही मार्गमा डोर्याउन र अनुशासनको भावना सिकाउने काम गर्दछ। यसले समय व्यवस्थापन गर्न र लक्ष्यमा पुग्न के गर्ने भनेर सिकाउँछ। अनुशासनले व्यक्तिलाई कसरी एकअर्कालाई आदर गर्ने भनेर सिकाउन मद्दत गर्छ। 

समग्रमा भन्नुपर्दा खेलकुदले सबैलाई समान अवसर दिनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा शान्ति र समृद्धि कायम राख्न मद्दत गरेको छ। खेलकुद भनेको मानिसहरूलाई जोड्ने र उनीहरूबीचको समझदारी बढाउने माध्यम मात्र होइन, मानिसहरूले एकअर्कालाई सम्मान गर्ने माध्यम पनि हो। यसले व्यक्तिगत स्वास्थ्य र अनुशासनमा मात्र ध्यान केन्द्रित गर्दैन, समाजमा प्रेम र समझदारीको भावना फैलाउनमा पनि भूमिका खेल्छ। तसर्थ हामी सबैले खेलकुदलाई प्रोत्साहन गर्नुपर्छ र यसको महत्त्व बुझ्नुपर्छ। 

खेलकुदको माध्यमबाट शान्ति र समृद्धि स्थापना गर्ने हाम्रो प्रयासले संसारलाई राम्रो र सुरक्षित स्थान बनाउन मद्दत गर्न सक्छ। नेल्सन मेन्डेलाले भने झैँ खेलकुदमा विश्वलाई परिवर्तन गर्ने शक्ति हुन्छ। यसले विभिन्न देशहरूबीच शान्ति र समृद्धिको भावनालाई बढाउन, एकताबद्ध गर्न र सिर्जनशील बनाउन सक्छ। 

(धिताल बृहस्पति विद्यासदनमा कक्षा १२ मा अध्ययरत छात्रा हुन् ।)
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update