कास्की । पछिल्लो समय व्यवहारिक शिक्षामा विद्यार्थीहरुको रुचि बढ्दो छ । तर कतिपयलाई थाहा नहुन सक्छ नेपालमा पर्वतारोहण सम्वन्धी उच्च शिक्षा संचालन भैरहेकोछ भन्ने बारे । त्यही उच्च शिक्षाको प्रयोगात्मक अभ्यासको उत्कृष्ट थलो बनेको छ कास्कीको मर्दी हिमाल ।
कास्की जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य मर्दी हिमाल । जहाँ एउटा समूह हिमाल आरोहण गर्दै गरेको जस्तो दृश्य देखिन्छ । यी मानिसहरू त्रिभुवन विश्वविद्यालयका विद्यार्थी हुन् र यिनीहरू पढिरहेका छन् भन्दा तपाईँलाई पत्यार नलाग्न सक्छ । तर सत्य त्यहीँ हो ।
यिनीहरू पर्वतारोहण सम्बन्धी उच्च शिक्षा अध्ययन गराउने विश्वकै एकमात्र क्याम्पस नेपाल माउन्टेन एकेडेमीका विद्यार्थी हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको नेपाल माउन्टेन एकेडेमी त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस हो ।
त्यही क्याम्पसका यी विद्यार्थीहरू प्रयोगात्मक कक्षाका लागि मर्दी हिमाल आएका हुन् । १० दिनको कक्षा सकेर पोखरा आउँदा उनीहरु त खुसी थिए नै, नेपालमा पनि पर्वतारोहण सम्बन्धी औपचारिक उच्च शिक्षा अध्ययन हुन्छ भन्ने थाहा पाउँदा पर्यटन व्यवसायीहरू हर्षित थिए ।
कुनै समय थियो । पर्वत आरोहण भन्ने बित्तिकै शेर्पा समुदायका मानिसहरूलाई मात्रै सम्झिने गरिन्थ्यो । तर अहिले विश्वमै पहिलोपटक पर्वतारोहण सम्बन्धी उच्च शिक्षा सञ्चालन हुन थालेपछि पर्वतारोहणमा अन्य समुदायका मानिसहरूको रुचि बढ्दो छ ।
नेपालमा औपचारिक रूपमा पर्वतारोहण सम्बन्धी उच्च शिक्षा सुरु भएसँगै दक्ष जनशक्ति उत्पादन गर्ने बाटो खुलेको छ । त्यो सँगसँगै विश्वका अन्य देशहरूमा यो विषयमा उच्च शिक्षा नभएकाले विश्वका जुनसुकै देशका विद्यार्थी पर्वतारोहण सम्बन्धी उच्च शिक्षा अध्ययन गर्न नेपाल आउने बाटो पनि खुलेको छ ।
हिमालको देश भनेर चिनिने नेपालमा पर्वतारोहणको उच्च शिक्षा हुनु नेपालको पर्यटनका लागि कोशेढुङ्गा सावित भएको ११ पटक सगरमाथाको सफल आरोहण गरेका पर्वतारोही गेल्जे शेर्पा बताउँछन् ।
नेपालको उच्च शिक्षा प्रयोगात्मक र व्यवहारिक नभएको भन्दै पटकपटक गुनासो आउने गरेका छन् । तर पर्वतारोहणका लागि नेपालमै व्यवहारिक तरिकाले सुरु गरिएको यो उच्च शिक्षाले बिस्तारै स्वदेशी तथा विदेशी विद्यार्थीहरूको ध्यान आकर्षित गर्दैछ ।
नेपाललाई पर्यटनको उत्कृष्ट गन्तव्य मानिरहँदा यसरी सुरु भएका पर्यटन सम्बन्धी विषयका उच्च शिक्षाले पर्यटन क्षेत्रलाई निकै टेवा पुग्ने देखिन्छ । यति हुँदाहुँदै पनि यस्ता व्यवहारिक उच्च शिक्षाबारे देशविदेशमा पर्याप्त प्रचारप्रसार भने हुन सकेको छैन ।