News 24 Television
बालेनमाथि ओली हमला, प्रमुख प्रशासकीय अधिकृत नै ‘अदलबदल’ 

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको वाकयुद्ध जारी छ । नयाँहरुको उदय र उनीहरको चरित्रलाई खासै नरुचाएका प्रधानमन्त्री ओलीले बालेनमाथि सँधै बाँण चलाउने गर्दछन् । 

पुराना दल र नेताहरुकोको कार्यशैलीमाथि टिप्पणी गर्दै महानगरको नेतृत्वमा आएका बालेन पनि ओलीविरुद्ध टिप्पणी गर्न कुनै कसुर राख्दैनन् । 

  एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालेनको टकराब सुरुका दिन देखि नै थियो । तर पछिल्लो समय बालेन–ओली द्वन्द्वले चर्कै रुपमा लिइरहेको छ । 

बालेनले नदी किनारका २० मिटर जग्गाभित्र संरचना बनाउन नपाइने सर्वोच्चको  फैसलालाई कार्यन्वयन गर्ने तयारी गरेका थिए । तर यसका विरुद्ध एमाले मैदान उत्रिएपछि ओली–बालेनबीच अझ कडा टक्कर चलिरहेको हो । 

एमालेबाटै निर्वाचित उपप्रमुख सुनिता डंगोलले पनि यस विषयमा विरोध जनाइन् । त्यस्तै एमाले नेतृत्व पनि बालेनविरुद्ध खनियो । 

बालेनले ५ वर्ष पहिले ओली नै प्रधानमन्त्री र एमालेकै महानगर प्रमुख रहँदा यही फैसलाविरुद्ध एमाले पुनराबेदनमा नगएको विषय निकाले । साथै बालेनले यसै विषयमा कटाक्ष गर्दै सामाजिक संजालमा ‘उहिल्यै मरिन् सासु, अहिले आए आँसु’ भन्ने उखानलाई समावेश गरेर स्टाटस लेखेका थिए । 

त्यस्तै प्रधानमन्त्री ओलीले शनिबार मात्रै मेयर बालेनलाई लक्षित गर्दै जथाभावी बोल्ने केटोको संज्ञा दिएका छन्। सामाजिक संजालमा निकै लोकप्रिय रहेका बालेन घरिघरी राजनीति र नेतृत्वमाथि कडा टिप्पणी गर्छन् । 

सामाजिक संजालमा लेखेको स्टाटस र बालेनको टिप्पणीहरुलाई जवाफ दिँदै प्रधानमन्त्री ओलीले जथाभावी बोल्न केटोको संज्ञा दिएका हुन् ।

मेयर बालेनले भदौ २९ अर्थात बाल दिवसको दिन पनि स्टाटसमार्फ प्रधानमन्त्री ओलीबाटै बाल अधिकारको हनन् भएको भन्दै सुभकामना दिन असमर्थ भएको टिप्पणी गरेका थिए । यसको अन्तर्य एमाले प्रदेश सांसद रेखा शर्मामाथि पार्टीले कारवाही नगरेको विषयसँग जोडिन्छ । 

सांसद शर्माले आफ्नै घरमा राखि एक बालिकामाथि ज्यदती गरेर बाल शोषण गरेको महानगरले दावी गर्दै आएको छ । ती बालिकालाई महानगरकै पहलमा उद्धार गरिएको थियो । तर बालिकामाथि ज्यादती गरेको प्रमाणहरु हुँदा पनि प्रधानमन्त्री ओलीले सांसद शर्माको बचाउ गरेको बालेनको दावी छ । 

यही विषयमा पनि एमाले र बालेनबीच भनाभन चलेको हो ।   यसअघि गिरीबन्धु जग्गा प्रकरणमा पनि मेयर बालेनले ओलीमाथि करोडौँको चलखेल गरेको  आरोप लगाएका थिए । उक्त आरोपपछि ओली बालेनविरुद्ध खुलेरै लागेका हुन् ।

बालेनमाथि ओलीको बदला 

बालेनसँग दोहोरी चलिरहेकै बेला प्रधानमन्त्री ओलीले महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको सरुवा गरिदिएका छन् । 

मेयर बालेनकै चाहना अनुसार परियारलाई महानगरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा महानगरमा भित्र्याइएको थियो । त्यसअघिका प्रमुख प्रशासकीय अधिकृतले नगर कार्यपालिकाको निर्णय हेरफेर गरी ‘आफन्त’लाई जागिर खुवाएको पाइएपछि बालेनले काममा नआउन भनेका थिए । 

त्यसपछि नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा प्रदीप परियार आएका थिए । युवा र सक्षम अधिकृत आएसँगै महानगरको काममा उनीसँग बालेनको ‘ट्युन’ पनि मिलिरहेको थियो । तर २७ भदौको मन्त्रिपरिषद् बैठकले प्रदीपलार्ई सञ्चार मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो । 
     
    मेयर बालेनसँग विभिन्न मुद्धामा विवाद भइरहेका बेला कार्यक्षमतामासमेत अब्बल युवा प्रमुख प्रशासकीय अधिकृत परियारलाई प्रधानमन्त्री ओलीले सेवा अवधि पूरा नहुँदै गरेको सरुवाप्रति पनि शंका गरिएको छ । गत माघमा मात्रै प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका उनलाई ८ महिनामै सरुवा गरिएको छ । 

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतलाई कम्तीमा २ वर्षसम्म काम गर्न दिइने अभ्यास छ । तर उनलाई ओलीेले ८ महिनाभित्रै सरुवा गरिदिएका हुन् । 

सरुवाको प्रकरणलाई लिएर कतिपयले बालेनलाई अफ्ठ्यारो पार्ने  ओली रणनीति भन्दै टिप्पणी गरिरहेका छन् । 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ०५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update