News 24 Television
इन्द्रजात्राको आकर्षण मजिपा लाखे

काठमाडौँ । इन्द्रध्वजा ठड्याएसँगै काठमाडौमा इन्द्रजात्राको रौनक छाएको छ । इन्द्रजात्राको मुख्य दिन मंगलबार जीवित देवी कुमारी, भैरव र गणेशको रथजात्रा हुने गर्दछ भने जात्राको मुख्य आकर्षणमध्ये मजिपाः लाखे पनि एक हो । रथयात्रा सुरु गर्नकै लागि पनि बाटो देखाउँदै जाने लाखेको भूमिका इन्द्रजात्रामा महत्वपूर्ण रहेको छ । 

मजिपा लाखे इन्द्रजात्राको मुख्य आकर्षणमध्ये एक हो । इन्द्र जात्रा सुरु भएको दिनदेखि हरेक दिन मजिपातस्थित लाखे घरबाट लाखे निकालिन्छ । नेवाः समुदायका रंजितकारहरुले निकाल्ने लाखेलाई एक दानवका रुपमा परिभाषित गरे पनि नेवार समुदायमा लाखेलाई शक्तिशाली देवताको रूपमा पुज्ने गरिन्छ ।

आफूमा रहेको दानवीय आचरण त्यागेर साना बालबालिकाको रक्षाको दायित्व लिएको भन्ने धार्मिक आस्थाका कारण नेवार समुदायमा लाखेलाई संरक्षक वा शान्त भैरवको रुपमा पनि चिनिन्छ । इन्द्रध्वजोत्थानपछि पहिलो दिन साँझ लाखे निकालेर उपाकु जाने बाटो परिक्रमा गरेर भक्तजनहरुलाई दर्शन दिने गरिन्छ । लाखे बन्ने क्रममा लाखेको शक्ति ब्यक्तिमा सञ्चार हुने लाखे बन्दै आएकाहरुको भनाई छ ।

नेवा समुदायमा आफूभन्दा अग्रजलाई ‘आजु, अजी’ भन्ने प्रचलन अनुसार लाखेलाई पनि शान्त भैरवको रुपमा पुज्ने भएकाले लाखेलाई सम्मान स्वरुप ‘लाखे आजु’ भन्ने गरिन्छ । प्रचलित किंवदन्ती अनुसार लाखे आजु एक राक्षस थिए र उनी श्री तलेजु भवानीसँगै काठमाडौँ आएका थिए । रातो कपाल भएको, ठूला ठूला आँखा, रातो अनुहार, दाह्रा भएको, ठूलो शरीर भएको, कम्मरमा घंगला बाँधेको हेर्दै डरलाग्दो रुपमा रहेको लाखे श्री तलेजु भवानीको सुरक्षार्थका निम्ति सँगै आएको जनविश्वास छ । 

इन्द्रजात्राको आठै दिन ‘मजिपा’ लाखे निकाल्ने गरिन्छ । जात्राको मुख्य मुख्य दिन वा कुमारी जात्रा हुने बाटोमा मजिपा लाखेलाई परिक्रमा गराइन्छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update