काठमाडौँ । कुनै समय राष्ट्रिय अविष्कार केन्द्रले सिन्केधूप, दाँत कोट्याउने सिन्का बनाउने मेसिन, झाडु, बाँसको मुढा बनाउने लगायतका मेसिन बनाउने भन्दा ‘वैज्ञानिक’ले यस्तो गर्छन् र ? भन्दै महावीर पुन हाँसोको पात्र बनाइए । २०७६ सालमा पुनको परिकल्पना युवाका लागि आविष्कार गर्न दिने ‘प्लेटफर्म’का रुपमा ८ करोड लागतमा केन्द्र स्थापना गरियो ।
केन्द्र स्थापना पनि उनले आर्थिक सहयोग संकलन गरेर गरेका हुन् । आलोचकहरूले उनको आविष्कार केन्द्रलाई ‘मर्मत केन्द्र’ पनि भन्छन् । केन्द्रलाई स्थापना गरेर उनी त्यसको अध्यक्षमा मात्रै सीमित भएनन् । आफ्नो जीवनी पुस्तक बेचेर हुने आम्दानीले वीरगञ्जस्थित कृषि औजार कारखानालाई पूर्ण क्षमतामा सञ्चालन गर्ने घोषणा गरे । २०५९ सालदेखि बन्द अवस्थामा रहेको कारखाना उनको पहलमा गतवर्षबाट सञ्चालनमा मात्रै आएन १० किसिमका कृषि औजार पनि तयार पारेको छ ।
कारखाना सञ्चालनका लागि रकम जुटाउन म्याग्सेसे पुरस्कार विजेता पुन आफूले लेखेको पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ बेच्न देश दौडाहामा निस्किए । कारखानाका ८० प्रतिशत मेसिनहरू ठीकठाक पारेर पहिलो चरणमा कारखानाले कृषकका लागि आवश्यक साना औजारहरू बेल्चा, बञ्चरो, कुटो, कोदालो, खुकुरीलगायतका उपकरण बनायो । त्यस्तै धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मेसिन तयार भएको छ । नयाँ प्रविधिको विकास र पुरानो प्रविधिको स्तरोन्नतिमा केन्द्रित भएर आविष्कार केन्द्रले काम गरिरहेको छ । ग्रामीण क्षेत्रका किसानको हातमा कृषि औजार पठाउने लक्ष्य पुनको छ ।
त्यस्तै, संघीय १७ वटै अस्पतालमा उपकरण व्यवस्थापनमा गर्ने जिम्म पनि आविस्कार केन्द्रकै हो । देशका ठूला सरकारी अस्पतालहरुमा बिग्रिएर बसेका स्वास्थ्य उपकरणहरुको मर्मतको जिम्मा आविस्कार केन्द्रलाई दिएर सरकारले विश्वासको वातावरण मात्रै सिर्जना गरेको छैन ठूलो धनराशीको बचत भएको छ ।
यसअघि पनि कोरोनाको समयमा केन्द्र पीपीई, अक्सिजन हुड, फेससिल्ड, स्वाव संकलन बुथ, एरोसोल बक्स, डिस्इन्फेक्सन बक्स, स्वाब संकलन गर्ने सुईरो, कोरोनाले मृत्यु भएको शव राख्ने बडी ब्याग, संक्रमितलाई एम्बुलेन्समा चाहिने आइसोलेसन बक्स बनाएर आफूलाई प्रमाणित गरिसकेको थियो ।
महामारीको समयमा पुनले राज्यलाई सहयोग गरे पनि अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा राज्यबाट असहयोग भएको भन्दै पुन एकरात माइतिघर मण्डलाको सडकमा समेत सुते । जे होस् केन्द्रले ठूला आविष्कार नगरेपनि कृषिप्रधान देशमा आवश्यक पर्ने साना उपकरणहरू आयात गर्ने लाजमर्दो अवस्थाको अन्त्य गर्ने निश्चित छ ।