News 24 Television
आज इन्द्रजात्रा एवं विश्वकर्मा पूजा मनाइँदै

काठमाडाैँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

केही दिन  अघि नै बसन्तपुर हनुमानडाेकामा सुरू भइसकेकाे इन्द्रजात्रा आजको दिन मुख्यरूपमा मनाइने गरिन्छ । यस दिन इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका कुमारी, गणेश र भैरवको रथयात्रा अवलाेकन गर्ने परम्परा छ ।

इन्द्र जात्रा अवधिभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको कथन पाइन्छ । 

त्यस्तै आज नै देवताका वास्तुकार विश्वकर्माको पूजा गरिँदैछ । यस अवसरमा कलकारना, माेटर, गाडी र हातहतियारकाे पूजा गरी मनाइँदै छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update