News 24 Television
अमेरिका जाँदा नेपालको शिर झुकाउने काम गर्दिनँ : प्रधानमन्त्री ओली

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अमेरिका भ्रमणमा देशको प्रभाव, प्रतिष्ठा र हित तल पर्नेगरी या शिर झुक्ने गरी कुनै पनि काम नगर्ने बताएका छन् ।

आफ्नो आसन्न संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिने कार्यक्रमबारे सोमबार प्रतिनिधि सभा बैठकमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । सो भ्रमणका क्रममा नेपालको शिर ढल्नेगरी, नेपालको इज्जत तल पर्नेगरी नेपालको कुनै पनि हिसाबले प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्नेगरी काम नगर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले आफूले देश र जनताका लागि आजभन्दा पनि बढी भोलिका लागि गर्ने नीति लिएको बताउँदै अमेरिकाको आफ्नो भ्रमणमा पनि सोही कुरालाई शिरोधार्य गरेर छलफल गर्ने बताए । उनले आफूले संयुक्त राष्ट्र संघको भमणबाट फर्केपछि पनि संसदलाई सो बारेमा विस्तृतमा जानकारी गराउने बताए ।

'संयुक्त राष्ट्र संघको भमणबारे मैले यस गरिमामय संसदलाई रिपोर्टिङ गर्नेछु कि मैले यो यो चिज गरेर आएँ, यो यो चिज बोलेर आए भनेर । र, म नेपालको शिर ढल्ने गरी, नेपालको इज्जत तल पर्नेगरी नेपालको कुनैपनि हिसावले प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्नेगरी काम गर्दिनँ,' उनले भने, 'एक जना माननीयजीले पनि अघि बढाउनुभएको थियो कि हामीले गर्ने भनेको राजनीति देश र जनताको लागि हो । आजका लागि हो, आज भन्दा बढि भोलीका लागि हो । त्यसो भएर हामी जुन घरको जग राख्छौं । जग राख्ने वित्तिकै बस्न पाईदैन । जहाँ शिलान्यास गर्छाै, त्यहाँ बस्न पाउदैनौं । र भोलि बस्नका लागि हामी बनाउँछौं । भोलिका लागि केही नगर्ने हो भने त धर्ती बाँझो हुन्छ । अनउर्वर हुन्छ । हामी भोलिका लागि बढि काम गर्छौं । आजका लागि भन्दा । असारका लागि असारका लागि रोपिएको होइन, कार्तिक, मंसिरका लागि हो । यो कुरा बुझेर नै हामी हाम्रो नीतिहरुमा अघि बढ्छौं ।’

प्रधानमन्त्री ओलीले आफूले सो महासभाका लागि बोल्ने कुनै पनि विषय गोप्य नहुने समेत बताएका छन् । त्यस अवसरमा उनले आफूले अमेरिका भ्रमणको क्रममा कोलम्बस युनिभर्सिटी र हार्वर्ड युनिभर्सिटीमा पनि सम्बोधन गरेर नेपालको प्राज्ञिक क्षेत्रको दृष्टिकोण राख्ने बताए । 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update