News 24 Television
सहकारी छानविन समितिको प्रतिवेदन बुझाइयो

काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठका समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानवीन विशेष समितिको प्रतिवेदन, २०८१ पेश गरेका हुन् ।

विभिन्न सहकारीहरुको वचत रकम अपचलन भएको भन्दै सो को छानविन गर्नका लागि भन्दै प्रतिनिधि सभाले थापाको संयोजकत्वमा २०८१ जेठ १५ गते ७ सदस्यीय छानविन विशेष समिति गठन गरेको थियो । प्रतिवेदन प्रस्तुत गर्दै सभापति थापाले पार्टीभन्दा माथि उठेर छानबिन गरेको बताए । उनले छानबिन समितिमा रहेका पाँच पार्टीहरु एकैतिर फर्किएर छानविन गरिएको र सबैकाे सहमतिमा हस्ताक्षर गरिएकाे पनि बताए । 

उनले समितिले ६६ वटा बैठक गरेको र विभिन्न ४५१ जना व्यक्तिहरुसँग सुझावमुलक जानकारी र अन्तरक्रिया गरेको जानकारी दिए  । सहकारी ठगिको आरोपित ४७ जना सहकारी सञ्चालक, गोर्खा मिडिया नेटवर्क प्रा.लि.का सञ्चालक तथा कर्मचारी समेत ३ जना र नियामक निकायका ५ जना गरी जम्मा ५५ जनासँग सोधपुछ  गरिएको उनले बताए ।

प्रतिवेदन सभामा पेश भएसँगै सभामुख देवराज घिमिरेले प्रतिवेदनको आवश्यक कारबाहीका लागि नेपाल सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिए ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update