News 24 Television
जनयुद्धलाई अपमानित र अवमूल्यन गर्ने कुरा सैह्य छैन : माओवादी

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) ले माओवादी जनयुद्धलाई अपमानित गर्ने र अवमूल्ययन गर्ने कुनै पनि गतिविधि स्वीकार्य र सैह्य  नहुने बताएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै सो पार्टीमा उपमहासचिव शक्तिबहादुर बस्नेतले नेपालको संविधान, शान्ति प्रक्रियाको भावना र जनयुद्धको भुमिकालाई अवमूल्यन र अपमानित गर्नेगरी एमालेका सांसद योगेशकुमार भट्टराईले संसदमा बोल्नुभएको विचारप्रति आफ्नो दलको असहमती, आपत्ति र विरोध कायमै रहेको बताए  । उनले सो सम्बन्ध स्पष्ट पार्न पनि सम्बन्धित दलसँग माग गरे ।

उपमहासचिव बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न संयुक्त राष्ट्र संघको महासभाको भ्रमण, महत्वपूर्ण विधेयकहरुलाई संसदबाट अन्तिम टुंगोमा पुर्याउनुपर्ने स्थिति, जनसरोकारका मुद्दाहरुमा छलफल गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखी आफ्नो दलले संसद सुचारु गराउने निर्णय लिएको पनि जानकारी गराए ।

उनले भने, 'नेकपा माओवादीको नेतृत्वमा सञ्चालन भएको १० वर्षे जनयुद्ध, जसलाई विस्तृत शान्ति सम्झौता र संविधानले सशष्त्र संघर्षको रुपमा परिभाषित गरेको छ । लगायतका ऐतिहासिक जनआन्दोलनलगायतका अन्य आन्दोलनहरुको परिणाम आज हामी यो संघीय संसदमा उपस्थित भएका छौं । यो संसदमा तीनै आन्दोलनहरुको योगदानलाई अवमूल्यन गर्नेगरी, अपमानित गर्नेगरी बहस हुने कुरा दुखद छ । यसकारण सत्तारुढ दलका माननीयज्यूबाट व्यक्त भएका विचारहरु, माओवादीको १० वर्षे सशस्त्र संघर्षलाई अपमानित गर्ने गरेर अपमानजनक ढंगले व्यक्त भएका विचारहरुप्रति हाम्रो दलको तर्फबाट असहमती रहेको कुरा, आपत्ति रहेको कुरा, विरोध रहेको कुरा म यहाँ दर्ज गर्न चाहन्छु ।'

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update