News 24 Television
बाल सुधार गृहमा विजोग, बालबालिका मानसिक यातनामा 

काठमाडौं । १८ वर्ष उमेर नपुगेका बालबालिकाहरूले अपराध गरि सजाय भुक्तान गर्नुप¥यो भने कारागार पठाइँदैन । त्यस्ता दोषी बालबालिकालाई राख्नको लागि राज्यले विभिन्न स्थानमा बाल सुधार गृह स्थापना गरेको छ ।

तर, देशका अधिकांश बालसुधार गृहहरू यातना गृह जस्ता देखिने गरेका छन् । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर १८ मा रहेको बाल सुधार गृहको हालत पनि यस्तै छ । 
सरकारले बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने मूल नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस धुमधामले मनायो । आजका बालबालिका भविष्यका कर्णधार भन्दै बालबालिकाबाट कुनै अपराध भयो भने पनि दोषी बालबालिकालाई कारागारमा नराखिकन बाल सुधार गृहमा उनीहरूलाई सुधार्नका लागि राखिन्छ , तर ती बालसुधार गृहहरू साँच्चिकै सुधारिएका छन् त ? 

यो कास्कीको बाल सुधार गृह हो । बाहिरबाट हेर्दा शान्त वातावरण र मनोरम प्राकृतिक दृष्य भएपनि भित्र छिरेपछि कास्कीको बालसुधार गृहलाई नै सुधारको आवश्यकता देखिन्छ । 

२०६८ सालमा स्थापना भएको यो सुधार गृहको क्षमता जम्मा ५५ जनाको हो । तर अहिले सुधार गृहका जम्मा सातवटा कोठामा कोचाकोच गरी १०९ जना बालकहरुलाई राखिएको छ । 

यिनै तमाम विषयमा जनगुनासो बढेपछि आइतबार पोखरा महानगरपालिका, नेपाल बाल सङ्गठन लगायतका निकायहरूले सुधार गृहको अनुगमन गरेका थिए । 

अनुगमनका क्रममा क्षमताभन्दा बढी बालक राखेको, अव्यवस्थित भान्सा कोठा, कुहिएको तरकारीको थुप्रो, खेलमैदान तथा खेल सामग्रीको अभाव जस्ता अनेकौं समस्या देखिन्थे । अनुगमन पश्चात् नेपाल बाल संगठन कास्कीका अध्यक्ष बामदेव ढुंगाना भन्छन् ’यो बालसुधार गृहतर्फ उन्मुख रहेको पाइयो ।’

बालसुधार गृहको काम अपराध गरेका बालबालिकालाई सजाय दिनुभन्दा पनि उनीहरूलाई सुधारेर सत्कर्ममा लगाउने एउटा जिम्मेवार निकाय हो, तर सरकारी घोषणा बमोजिम पर्याप्त स्रोत साधन र बजेटका अभावमा यसरी क्षमताभन्दा बढी बालकहरु राख्न परेको र त्यसैको कारण व्यवस्थापकीय पाटो कमजोर देखिएको बाल सुधार गृहका दिएका प्रमुख अजय थापा क्षेत्री बताउँछन् ।

त्यसो त बालसुधार गृहको व्यवस्थापन, आवश्यक बजेट र सम्पूर्ण जिम्मेवारी गृह मन्त्रालयमातहतका जिल्ला प्रशासन लगायतका निकायहरूको हो, तर पोखरा महानगरपालिकाले आफ्नै नगरभित्र भएकाले बालसुधार गृह बारे चासो राख्ने र सहयोग गरेको छ ।

सुधार गृहको अनुगमन पश्चात् न्यूज २४ सँग कुरा गर्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले सुधार गृहलाई आवश्यक सामग्री तत्काल उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन् । 

कास्कीको बालसुधार गृह त उदाहरण मात्रै हो । देशका अधिकांश बालसुधार गृहहरू यातना गृह जस्ता छन् । त्यसैले त केही समय अगाडि भक्तपुर र पर्सा जिल्लाको सुधार गृहमा रहेका बालकहरूले आन्दोलन गरेका थिए र त्यो आन्दोलनले निकै उग्ररूप पनि लिएको थियो । 

त्यसैले बाल सुधार गृहलाई साँच्चिकै सुधार गृहको रुपमा बेलैमा विकास नगर्ने हो भने ती नाम मात्रैको सुधार गृहहरू साँच्चिकै यातना गृहको रुपमा रुपान्तरण हुनेछन् भन्नेमा कुनै दुईमत छैन । 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update