काठमाडौं । केही महिना अघिसम्म मात्रै सत्ता सहकार्यमा रहेका नेकपा एमाले र माओवादी केन्द्र अहिले सत्ता पक्ष र प्रतिपक्षमा छन् । काँग्रेसको समर्थनमा सत्ताको नेतृत्व गर्न पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् भने प्रमुख प्रतिपक्षी दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् ।
विगतमा पनि सत्ताका लागि अस्वभाविक निकट बन्ने ओली र प्रचण्ड गठबन्धन तोडिए लगत्तै एक अर्कामा परस्पर विरोधीका रुपमा उत्रने गरेका छन् ।
यस पटक पनि सत्ताबाट बाहिरिए लगत्तै प्रधानमन्त्री केपी ओलीमाथि प्रचण्डले भ्रष्टाचारीको ‘ट्याग’ लगाए । आफूलाई भ्रष्ट र विचौलियाको समूहले नै सरकारबाट हटाएको दावी गरेका प्रचण्डले सत्तामा रहँदा जनताको पक्षमा काम गरेको बताउने गर्छन् ।
वर्तमान सरकारको कमजोरी र आफू नेतृत्वको सरकारको कामलाई हतियार बनाएर प्रचण्ड अहिले देश दौडाहामा छन् । ८४ को निर्वाचन लक्षित संगठन निर्माणमा लागी परेका प्रचण्ड अहिले जनतामाझ प्रस्तुत हुने प्रयासमा छन् ।
तर उता प्रधानन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी आगामी निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत मुस्किल हुने भविष्यवाणी गर्न थालेका छन् । हुन त एमाले पनि मिसन ८४ को अभियानमै छ । आफूहरुको मिसन ८४ सफल हुने, र उक्त निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दावी गर्दै आएका ओलीे माओवादी राष्ट्रिय दल बन्न हम्मेहम्मे हुने दावी गर्छन् ।
प्रधानन्त्री ओलीले आफू सुशासनको पक्षधर रहेको उल्लेख गर्दै प्रतिपक्षी दलहरुलाई झुटको संज्ञा पनि दिने गरेका छन् । प्रतिपक्षले कलात्मक तवरले बेइमानी गरेको आरोप लगाएका ओली आफू उल्टो भएपछि सबैलाई उल्टो देख्ने टिप्पणी गर्छन् ।
एकअर्कालाई भ्रष्टाचारीको आरोप लगाउने ओली र प्रचण्ड अहिले सुशासनकै नारा बोकेर जनता रुझाउने प्रतिस्पर्धामा छन् । यसक्रममा माओवादीले ओलीमाथि भ्रष्टचारीको आरोप लगाउने गरेका छन् । उता माओवादीले पनि ओलीमाथि भ्रष्टाचारीको ट्याग लगाउने गरेको छ । यद्यपि ओली भने आफू सुशानको पक्षधर रहेको उल्लेख गर्दै आगामी दिनमा कुनै प्रकारको भ्रष्टाचार देख्न नपर्ने बताउँछन् ।
खासगरी नयाँ समीकरणपछि प्रधानमन्त्री ओली र प्रचण्डबीचको सम्बन्धमा दूरी बढेको छ ।
भ्रष्टाचारको विषयमा एकअर्काविरुद्ध नै पोलापोल गरिरहने ओली–प्रचण्ड आउँदो निर्वाचनलाई आधार बनाएर एकअर्काविरुद्ध दोषारोपणमा उत्रिएको देखिन्छ ।
नयाँ दलप्रति ओलीको असन्तुष्टि
प्रधानमन्त्री केपी शर्मा ओली नयाँ दलहरुसँग पनि निर्मम बन्ने गरेका छन् । स्वतन्त्रबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुसँग समेत जाइलाग्ने गरेका ओली नयाँ दलहरुमाथि पनि कटाक्ष गर्न थालेका हुन् ।
शनिबार पार्टीकै कार्यक्रम सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीले एमालेको घट्दो जनमतप्रति इगित गर्दै नयाँ दलहरुलाई खन्चुवाको संज्ञा दिए । विगतका तुलनामा एमालेको लोकप्रिय मत घटेको विषयमा कार्यकर्ताहरुलाई सचेत गराउने क्रममा ओलीले नयाँ दलहरुले आफूहरुको भाग खाइदिएको टिप्पणी गरे ।
पछिल्लो आम निर्वाचनमा काँग्रेस, एमाले तथा माओवादीकै समानुपातिक मत घटेको थियो । त्यस्तै स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको लोकप्रिय मत करिब ६ प्रतिशत बढ्दा एमालेको भने करिब ८ प्रतिशतले घटेको थियो । यसरी एमालेको मत घट्नुमा स्वतन्त्र र रास्वपाजस्ता नयाँ पार्टीहरुको उदयलाई पनि लिन सकिन्छ ।
प्रधानमन्त्री ओलीले यही नतिजा र कारणलाई स्मरण गर्दै आगामी निर्वाचनमा सशक्त भएर लाग्न पार्टी पङ्तीलाई निर्देशन दिएका हुन् । यद्यपि ओलीको यो अभिव्यक्तिले नयाँ दल रास्वपा र स्वतन्त्रबाट निर्वाचित जनप्रतिनिधिहरुको अस्थित्वलाई भने स्वीकार गर्न आनाकानी गरेकोे देखिन्छ ।