News 24 Television
नेपालले विश्वविद्यालय विश्वकप फुटबलको छनोट खेल्दै

काठमाडाैँ । नेपालले अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वर्ल्डकपको क्वालिफायङ खेल्ने भएको छ । 

नेपालले चीनको यानबियान शहरमा हुने अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वल्र्डकपको क्वालिफायङ प्रतियोगिता दोस्रो एयुएसएफ फुटबल कप खेल्ने भएको हो । अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) विश्वकपको छनोट चरण रहेको एयुएसएफ सेप्टेम्बर १६ देखि २४ सम्म हुँदैछ ।  आगामी सन् २०२५ मा चीनकै डालियन शहरमा फिसु फुटबल विश्वकप हुने तय छ । नेपालले यसै विश्वकप छनोट खेल्ने लागेको हो । 

विश्वविद्यालय खेलकुद संघ नेपालको आयोजनामा आईतवार थापागाउँमा आयोजित कार्यक्रममा नेपाली टोलीको बिदाइ गरिएको थियो । वागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, प्रदेश खेलकुद परिषद्का बागमती प्रदेशका सदस्यसचिव दीपक लामा र विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्राध्यापक डा. ज्ञानेन्द्र पौडेलले नेपाली टोलीलाई नेपालको झन्डा हस्तान्तरण गर्दै विदाई गरे । 

सो अवसरमा राखेपका पूर्वकोषाध्यक्ष शैलेष कर्माचार्य, विश्वविद्यालय खेलकुद संघका महासचिव पूर्ण बोहोरा, ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको उपस्थित थिए । बिदाइ  कार्यक्रममा मन्त्री महर्जनले १८ देखि २८ वर्ष उमेरका खेलाडीले नै अन्तर्राष्ट्रिय सफलता प्राप्त गर्ने भएपनि यो उमेरमा युवा विश्वविद्यालयमै उच्च शिक्षामा व्यस्त हुने भएकाले विश्वविद्यालय खेलकुदलाई प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्ने बताए । 

प्रदेश खेलकुद परिषद् वागमती प्रदेशका सदस्यसचिव दीपक लामाले शैद्धान्तिक रूपमा खेललाई पाठ्यक्रममा नै समावेश गरेर अगाडि बढाउनसके खेलकुद विकास सम्भव रहेको बताए । 

यो छनोट प्रतियोगितामा एशियाका १६ राष्ट्रले प्रतिष्पर्धा गर्दैछन् । १६ खेलाडी र तीन अफिसियल गरी कुल १९ सदस्यीय नेपाली टोली आईतवार नै चीन प्रस्थान गर्दैछन् । सन्तोष दहालको कप्तानीमा रहेको नेपाली टोलीमा चक्रराज बिडारी, नविन न्यौपाने, दीपेश खड्का क्षेत्री, आशिष थपलिया, हितेश पाण्डे, रूपेन्द्र फुयाल, सरोज उप्रेती, दिगम खड्का, रोशन खड्का, रामकृष्ण खत्री, सरोज गिरी, सारंश भट्टराई, सञ्जोग पोखरेल, मनिष पौडेल र सञ्जु तामाङ छन् । 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update