झापा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेथिति र विचलनका विरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपरेको बताएका छन् ।
आईतबार बिहान झापाको बिर्तामोडमा उनले गिरीबन्धु टी-स्टेटको हदबन्दी प्रयोजनका लागि गणना गर्नु भनेर सर्वोच्च अदालतले आदेश दिएको ५१ विघा जग्गाका स्थानीय पीडितलाई न्याय दिलाउन आफ्नो सक्दो पहल रहने बताए ।
आईतवार बिहान सोही ५१ विघा जग्गामा भारतीय दुतावासको लगानीमा बनेको टेकबहादुर गिरी बसपार्कमा उक्त जग्गाको कित्ताकाट तथा किनबेच रोकिएको विषयमा स्थानीयवासीले पूर्वप्रधानमन्त्री दाहाललाई ज्ञापन-पत्र बुझाएका थिए । स्थानीयवासीको ज्ञापन-पत्र बुझ्दै दाहालले स्थानीयलाई न्याय दिलाउन आफ्नो सक्दो पहल हुने बताए ।
उनले भने, ‘सायद मैले यिनै बेथिति र विचलनकाबिरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपर्ने बाध्यता पनि त्यसैबाट सिर्जना भयो । तर अब सडकबाट भएपनि, सदनबाट भए पनि, सरकारबाट भएपनि तपाईंहरुलाई न्याय दिलाउनेछु ।’
‘मर्निङ वाक’मा निस्किएका प्रचण्डलाई स्थानीयले ज्ञापनपत्र बुझाएपछि उनले स्थानीयलाई न्याय दिन आफू लागिपर्ने वाचा गरेका छन् ।