News 24 Television
उपसभामुख पद ओलीको कब्जामा ! प्रचण्डको यस्तो इसारा 

काठमाडौं । उपसभामुख हटाउने निर्णय गर्दै अघि बढेको सत्तापक्ष केहि पछि हट्ने संकेत देखाउन थालेको छ । कांग्रेससँगको सत्ता सहकार्यलाई बलियो पार्न भन्दै प्रधानमन्त्री केपी ओलीले थालेको कदममा प्रतिपक्षीको चर्को स्वर र अन्य कारण तत्काललाई सत्तापक्ष केहि रोकिने देखिन्छ । 

असम्बन्धित व्यक्तिलाई अमेरिकी दूतावासमा भीसा अन्तरवार्ताको समय मिलाइदिन भन्दै पत्राचार गरेपछि विवादमा हेलिएकी उपसभामुख इन्दिरा राना मगरले पदीय मर्यादा कायम गर्न नसकेकोमा विवाद छैन् । इन्दिराले गल्ती गरको सबैको स्वीकारोक्ति छ । उनकै दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि इन्दिराले त्रुटी गरेको स्वीकार गर्छ ।

रास्वपाले मात्रै नभई उपसभामुखको पक्षमा उभिएको माओवादी केन्द्र पनि यहि बुझाईमा  छ । इन्दिराले गल्ती गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पनि बुझाई छ । तर, उनलाई हटाउने विषयमा भने असहमति देखिन्छ । उसोतः प्रचण्डले एमाले–कांग्रेस यस्तो निर्णयबाट ब्याक हुने दाबी समेत गरेका छन् । 

संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री केपी ओलीले चासो व्यक्त गरेको बताइन्छ । ओलीले यो विषयमा के भएको हो भन्ने चासो राखेपछि उपसभामुखले आफ्नो बचाउ गरेको बताइन्छ । परिषद् बैठकपछि इन्दिराले ओलीले बाहिर चलेका हल्लाको पछि नलाग्न आग्रह गरेको भन्दै पत्र लेखेको विषयमा गोलमोटल जवाफ पेश गरेकी छन् । 

ओलीको उपसभामुख कार्ड

कांग्रेस संवैधानिक परिषद्मा छैन् । सत्तापक्ष बन्नेवित्तिकै कांग्रेसको उपस्थिति संवैधानिक परिषद्मा नहुँदा आफ्ना नियुक्तिहरु रोकिने खतरा उत्तिकै छ । माओवादी केन्द्र, एमाले र रास्वपाको संवैधानिक परिषद्मा रहेको उपस्थितिलाई लिएर कांग्रेसमा चिढचिढावट हुनु स्वभाविक पनि हो ।

यहि तथ्य बुझेका ओलीले उपसभामुख कांग्रेसलाई दिएर नयाँ खेल खेल्न यस्तो गरेको बताइन्छ । जसमा कांग्रेस सभापति शेरबहादुर देउवा फस्न पुगेका हुन् । 

शक्तिशाली बन्ने प्रयास

प्रधानमन्त्री ओली कुनैपनि बेला सत्ताबाट बाहिरिनुपर्ने हुनसक्छ । कांग्रेसले चाहेमा ओली सत्ताबाट बाहिरिन समय लाग्दैन् । प्रतिपक्षमा पुगेका साना दलहरु एमालेलाई बाहिर ल्याउने सर्तमा देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार छन् । 

यो तथ्य बुझेका ओलीले उपसभामुख प्रकरणमा रास्वपा र कांग्रेसको मतभेद तीब्र पारिदिने र सत्ताको चाबी आफैसँग राख्ने कदम चालेको चर्चा छ । 

ओलीले संवैधानिक परिषद्मा कांग्रेसको उपस्थितिलाई लिएर देउवालाई सत्ता गठबन्धनमा लामो सय टिकाउने अस्त्रको प्रयोग गर्दा उपसभामुख कोपबाजनमा परेकी हुन् ।

गठबन्धन ‘ब्याक’

सत्ता गठबन्धनले इन्दिरालाई हटाउने अन्तिम तयारी गरेपनि केहि समय होल्डमा बस्ने रणनीति अख्तियार गरेको छ । इन्द्रिराले पदीय मर्यादा कायम गर्न नसकेको तथ्य स्थापित गराउन सत्ता पक्षले केहि समय लिने देखिन्छ । 

इन्दिराको विपक्षमा पदीय मर्यादा कायम गर्न नसकेको तथ्य स्थापित गराउदै मानव तस्करीको विषयलाई समेत अघि बढाउने गरि सत्ता पक्षले चालेको रणनीति सफल हुने समय पर्खिएका एमाले–कांग्रेसले उपसभामुख इन्दिरालाई पदमुक्त गराउलान् ? शंका छ । तर, तत्काललाई संसद अधिवेशन अन्त्य गर्ने र त्यसपछि अर्को संसदमा नयाँ तरिकाले अघि बढ्ने गरि जाने सल्लाह सत्ता पक्षभित्र चलेको बताइन्छ । तर, तत्काल ब्याक भएको जस्तो देखिएपनि इन्दिराको विपक्षमा संसद जतिबेला पनि जाग्न सक्ने सम्भावना कायमै छ । 

साना दल बाधक

साना दलले पनि इन्दिरालाई हटाउने निर्णयमा पक्षमा नउभिन सक्ने खतरा छ । कांग्रेसलाई उपसभामुख दिन साना दलले जोखिम किन मोल्ने भन्ने आन्तरिक तयारी गरिरहेको अवस्था छ । तर, ओलीले दुई तिहाई पु¥याउने जिम्मा लिएर कांग्रेसलाई राजी बनाएकाले साना दललाई सहमत गराउने कसरत चल्न थालेको छ । ओलीले अब चाल्ने कदमले नै उपसभामुखको पदमा सुनिश्चितता देखिनेछ । 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update