News 24 Television
संस्कृत विश्वविद्यालयमा तीन महिनादेखि तालाबन्दी 

बुटवल । नेपाल संस्कृत विश्वविद्यालयमा तीन महिनादेखि ताला लागेको छ । विभिन्न विद्यार्थी संघसंगठन र आंशिक शिक्षकहरुले विभिन्न माग राखी तालावन्दी गरेका हुन् । विश्वविद्यालयमा तीन महिनादेखि ताला लाग्दा आर्थिक, शैक्षिक, प्राज्ञिक र प्रशासनिक काम पूर्ण रुपमा प्रभावित हुन पुगेको छ । 

नेपाल संस्कृत विश्वविद्यालयमा ताला बन्दी हुँदा तीन महिनादेखि विश्वविद्यालयका नियमित सबै कामहरु प्रभावित भएका छन् । 

दाङ्को बेलझण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयमा विभिन्न विद्यार्थी संघसंगठन र आंशिक शिक्षकहरुले विभिन्न माग राखी तीन महिना अघि तालावन्दी गरेका हुन् । 

लगाइएको ताला खोल्न उपकुलपति प्रा. डा. भीमप्रसाद खतिवडाले लिखित रूपमा आह्वान गरेका छन् । तीन महिनादेखि संस्कृत विश्वविद्यालयमा लागेको ताला खोल्ने वातावरण बनाउन उनले गत बुधबार सरोकारवाला निकायलाई आग्रह गर्दै लिखित आह्वान गरेका थिए ।  

विश्वविद्यालयको बेलझुण्डीस्थित केन्द्रीय कार्यालय र आंगिक निकायमा तीन महिनादेखि ताला लाग्दा आर्थिक, शैक्षिक, प्राज्ञिक र प्रशासनिक काम पूर्णरूपमा प्रभावित भएको भन्दै  विश्वविद्यालयको तर्फबाट विद्यार्थी, प्राध्यापक र कर्मचारीका साझा संगठनहरू, स्ववियुलगायत सरोकारवाला सबै पक्षलाई यसप्रति संवेदनशील हुन आह्वान गरिएको छ ।

विद्यार्थी संघसंगठन र आंशिक शिक्षकहरूले विभिन्न माग राखी तालाबन्दी गरेका छन् । विश्वविद्यालयका तर्फबाट जनता विद्यापीठ बिजौरीका प्राचार्य योगराज शर्माको संयोजकत्वमा गठित वार्ता समितिसँग संवाद गरी शीघ्र निकास निकाल्न र अवरोधको अन्त्य गर्न विश्वविद्यालयले आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।

तालाबन्दीका कारण असार २० मा मन्त्रिपरिषद्बाट विश्वविद्यालयको सयौं बिघा जग्गाको व्यवस्थापन गर्न गठित समितिले काम गर्न पाएको छैन । समितिले पाएको जिम्मेवारी सकिन थोरै मात्र समय बाँकी छ । 

जग्गासम्बन्धी विश्वविद्यालयका अभिलेख अध्ययन गर्न मिलेको छैन भने बन्दका कारण सरकारले नै महत्त्व दिएको जग्गा व्यवस्थापनको जरुरी काम अलपत्र परेको छ । 

विश्वविद्यालयको एकमात्र आयुर्वेद विद्यापीठमा १२ वर्षदेखि सञ्चालन भइरहेको आयुर्वेद स्नातक बीएएमएस तहको शिक्षण, परीक्षा, मूल्यांकन र प्रायोगिक पक्षमा भइरहेका समस्या समाधानका लागि विद्यार्थी, आयुर्वेद अध्ययन संस्थान र विद्यापीठसँग विमर्श गरी सकारात्मक पहलका साथ अघि बढ्न विश्वविद्यालय प्रतिबद्ध रहेको बताए पनि आन्दोलनरत पक्ष भने अझै विश्वस्त हुन सकेको छैन  ।

उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले साउन अन्तिम साता राजीनामा दिएपछि उपकुलपतिको जिम्मेवारी खतिवडाले पाएका हुन् । खतिवडा यसअघि विश्वविद्यालयको शिक्षाध्यक्ष थिए । 

विद्यार्थीहरु विदेश पलायन भई नेपालका विश्वविद्यालयहरु रित्तिँदै जाँदा पनि शैक्षिक राजनीति भने झनै विकृत हुँदै गएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update