
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मार्की खेलाडी छनोट गरिएको छ । आगामी मंसिर तेस्रो सातादेखि शुरु हुने एनपिएलका लागि खेलाडी छनोट गरिएको हो । मार्की खेलाडीमा को–को छनोट भए र उनीहरुले अब कस्तो सेवासुविधा पाउने छन् त ?
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी मंसिर १५ गते देखि पुस ६ सम्म नेपाल प्रिमियर लिग (एनपिएल) हुँदैछ । यस प्रतियोगिताका लागि मार्की खेलाडी छनोट प्रकृया पुरा भएको छ ।
साथै उनीहरुको सेवासुविधा समेत तोकिएको छ । एनपिएलमा खेल्ने आठ फ्रेन्चाइज टोलीका मार्की खेलाडीले २० लाख रुपैयाँ पाउने भएका छन् ।
क्यानले शनिवार काठमाडौंमा आयोजना गरेको मार्की खेलाडी छनोट गर्ने कार्यक्रममा उनीहरूले पाउने पारिश्रमिकबारे जानकारी दिएको हो । शनिबार गोलाप्रथाबाट जिम्मेवारी छनोट गरिएको हो ।
को खेलाडी कुन टिममा ?
लुम्बिनीको मार्की खेलाडी– नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल
विराटनगरको मार्की खेलाडी– सन्दीप लामिछाने
काठमाडौंको मार्की खेलाडी– तीव्र गतिका अनुभवी बलर करण केसी
पोखराको मार्की खेलाडी– ओपनर कुशल भुर्तेल
चितवनको मार्की खेलाडी– अलराउण्डर कुशल मल्ल
जनकपुरको मार्की खेलाडी– ओपनर आसिफ शेख
कर्णालीका मार्की खेलाडी– अनुभवी बलर सोमपाल कामी
सुदूरपश्चिमका मार्की खेलाडी– दीपेन्द्रसिंह ऐरी
पोखराको स्वामित्व नेपाल टी–२० प्राली, काठमाडौंको स्वामित्व कान्तिपुर पब्लिकेशन र चितवनको स्वामित्व चितवन मेडिकल कलेजले खरिद गरेको हो ।
लुम्बिनीको स्वामित्व फच्र्युना हेल्थ केयर, जनकपुरको ड्रिम्स स्पोर्ट्स र कर्णालीको स्वामित्व हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सले खरिद गरेको हो । इम्पायर स्पोर्ट्स म्यानेजमेन्टको स्वामित्वमा सुदूरपश्चिम छ ।
एमएडी ड्रिम स्पोटर््सले विराटनगर दुई करोड पाँच लाख खरिद गरेको थियो । पोखराका लागि सबैभन्दा बढी तीन करोड ५७ लाख मूल्यमा खरिद भएको हो । कर्णाली सबैभन्दा कम एक करोड ११ लाखमा हिमालयनले फ्रेन्चाइजी पाएको हो ।
के भन्छन् क्यानका अधिकारी ?
प्रतियोगिता र खेलाडी अनि खेलाडीको भविष्यबारे समेत क्यानका अधिकारीहरुले आशातित अवस्था अभिव्यक्त गरेका छन् । क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटप्रतिको क्रेजलाई समेट्दै नेपाली क्रिकेटरलाई राम्रो प्लाट फर्म प्रदान गर्न नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गरिएको बताए ।
एनपिएल आयोजना गर्नुको पछाडि नेपाली क्रिकेटरलाई राम्रो प्लाट दिने उद्देश्य रहेको उनी बताउछन् । समर्थकको साथ र समर्थनसँगै नेपाली क्रिकेटलाई अझ माथि उठाउन क्यान पनि पारदर्शी ढंगले काम गरिरहेको र आगामी दिनमा थप सुधारिएर काम गर्ने उनको प्रतिबद्धता छ । साथै नेपाली प्रिमियर लिगले ग्रासरुट क्रिकेट विकासमा मद्दत गर्ने आशा पारसको छ ।
मार्की प्लेयर, टिमका मालिक र स्थानीय प्रशिक्षक मिलेर फ्रेन्चाइज टोलीको ब्रान्ड बढाउन भुमिका खेल्ने समेत उनले बताए । यो शुरुवात भएकाले पहिलो संस्करणमा आर्थिक भार नपरोस् भनेर केही मापदण्ड बनाइएको उनले जानकारी दिएका छन् ।
उनले एनपिएलको उचाईसँगै सबै फ्रेन्चाइज टोलीले पनि ब्रान्ड बिल्डिङ गर्दै जाने हो भने नेपाली क्रिकेटमा धेरै सुखद् क्षण आउने विश्वास समेत व्यक्त गरेका छन् । मार्की र फ्रेन्चाइज टोलीबीच तीन वर्षको सम्झौता रहेको छ । यो अवधिपछि दुवै पक्षले नयाँ यात्राको थालनी गर्न पाउने छन् ।