News 24 Television
सहकारी लुट्न नेताहरुको इन्द्रजाल ! को माथि कस्ता आरोप ?

काठमाडौं । सहकारी ठगी पछिल्लो समय विकराल समस्या बन्दै गएको छ । सहकारीमा शक्तिशालीहरु नै डामिने र उनीहरुले अनेक कोणबाट उन्मुक्ति पाउने भन्दै विरोध चलिरहेको छ । शीर्ष नेताहरुमाथि सहकारी ठगीको आरोप लाग्नु र सहकारी क्षेत्र नै बदनामित हुनुका पछाडीका मुख्य कारण के कस्ता छन् त ? 

सहकारी क्षेत्रमा देखिएको वित्तीय अराजकताले सीमा नाघ्दा सर्वसाधारणहरु पीडामा छन् । केहि सर्वसाधारणले सहकारीले वचत फिर्ता दिन नसक्दा ज्यानै गुमाएको स्थिति छ । औषधी उपचार नै गर्न नसक्ने स्थितिमा सर्वसाधारण वचतकर्ता पर्दा पनि राज्यले यसलाई टुंगोमा पु¥याउन सकेको देखिन्न । कारण हो, दलका शीर्ष नेताहरु नै सहकारी ठगी प्रकरणमा डामिनु । 

सहकारी ठगी प्रकरणमा ठूला नेताहरु पनि जोडिने क्रम तीब्र बनेपछि केहिले सहकारीको वचत रकमलाई गुपचुप फिर्ता गर्दै सेटलमेन्ट रोजेका छन भने केहि आफु सहभागी नभएको निम्छरो जवाफ पेश गरिरहेका छन् । तर, प्रश्न जबरजस्ती उठ्न थालेको छ । 

को नेताहरु मुछिए सहकारी ठगीमा ?

सहकारी ठगीमा पर्ने शीर्ष नेताहरुको सूची थपिनेक्रम छ । सहकारी ठगी आरोप लाग्ने शीर्ष नेताहरुको अग्रपंक्तिमा नाम आउने पात्र हुन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने । 

रविमाथि गितेन्द्रबाबु राईसँग मिलेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्दा रकम अपचलन गरेको आरोप लागिरहेको छ । रविले आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएपनि पीडितले कालोझण्डा देखाउनेदेखि नाराबाजी गर्नेक्रम चलेको छ । पोखरा, वुटवल लगायतका क्षेत्रमा रविले यस्ता अवरोध भोग्न थालेका छन् । 

रविपछि फेरि सहकारी ठगी आरोपमा अर्का शीर्ष नेता कांग्रेस उपसभापति समेत रहेका पूर्वमन्त्री धनराज गुरुङ परेका छन् । गुरुङले ललितपुरको मितेरी सहकारी ठगीमा पत्निसँग नक्कली सम्बन्धविच्छद गरेको आरोप लागिरहेको छ । धनराजले संसदमा आफूविरुद्धका जस्तासुकै छानविन स्वीकार्ने दाबी गरिरहेका छन भने कांग्रेसले समेत छानविन गर्दा सहयोग गर्ने बताइसकेको छ । 

धनराजले पत्निको नामको ऋण तिरेकोदेखि मितेरी सहकारीबाट ऋण लिंदा पत्नि स्वीकार गरेको तथ्य फेला परेको छ । यस्तो स्थितिमा धनराज पनि सहकारी ठगीमा मुछिन पुगेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालमाथि पनि हाम्रो कृषी सहकारीमा ठगीको आरोप लागेको थियो । तर, हाम्रो कृषी सहकारीमा ५ करोड हिनामिना भएको भनिएको रकम जम्मा गरेर यो विषयलाई सेटल गरिएको थियो । डीपीसँगै रास्वपाका नेताहरु कविन्द्र बुर्लाकोटी र विपिन आचार्यमाथि समेत यस्तो आरोप लागेको थियो । 

उसोतः ठूला सहकारी ठगीमा सुधिर बस्नेत, इच्छाराज तामाङदेखि केदार शर्मा लगायत लामो सूची रहेको छ । तर, सहकारी ठगीलाई टुंगोमा पु¥याउनका लागि सरकारले ठोस कदम चाल्न भने सकेको देखिन्न । 

सहकारी क्षेत्रलाई नियमन र बलियो संयन्त्रमार्फत कानूनको दायरामा ल्याउन नसक्ने हो भने मुलुकको अर्थतन्त्र नै संकटमा फस्ने खतरा समेत उत्तिकै रहेको दाबी  गरिन्छ । 

यस्तोमा सहकारी ठगी तथा वचत रकम अपचलनबारे छानविन गर्न बनेको समितिले कस्तो अध्ययन गर्छ र निष्कर्ष निकाल्छ भन्ने समेत धेरैको चासोमा छ । 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update