News 24 Television
सुविधा सम्पन्न पालिकामै स्वास्थ्य केन्द्र छोडेर सहरतिर भीड,  उत्साह बढाउन अण्डा उपहार 

कास्की । शिक्षा, स्वास्थ्य लगायतका आधारमा कास्की जिल्ला निक्कै उत्कृष्ट जिल्ला हो । तर सुविधा भएर पनि कास्कीको रुपा गाउँपालिकामा गर्भवती महिलाहरुको नियमित स्वास्थ्य परिक्षण दर भने कमी छ । 

गर्भवती महिलाहरुले नियमित स्वास्थ्य जाँच गरुन् भनेर अहिले रुपा गाँउपालिकाले पालिकाभित्र रहेका अस्पताल, स्वास्थ्य केन्द्रमा गर्भवती अवस्थामा प्रोटोकल अनुसारको नियमित स्वास्थ्य जाँच गर्दा एक क्रेट अण्डा उपहार दिने योजना अघि सारेको छ । 

महिलामा पोषणको पूर्ति र नियमित परीक्षणमा समेत सवल हुने भन्दै गर्भ जाँच गर्न आउने प्रत्येक महिलाले प्रत्येक पटक एक क्रेट अण्डा उपहार पाउनेछन् । 

गाउँ–ठाउँमै स्तरीय स्वास्थ्य चौकी निर्माण भए पनि गर्भ जाँच गर्न भने सहरै जाने कि जाँचै नगर्ने भन्ने परिपाटीलाई न्यूनीकरण गर्न पनि पालिकाले गर्भ जाँचपिच्छे एक क्रेट अण्डा उपहार दिने कार्यक्रम यही भदौँ महिनाबाट सुरु गरेको हो । 

पहिले गर्भवती भएको समयदेखि सुत्केरी हुनुअघिसम्म ४ पटक जाँच गर्ने गरिएकोमा नेपाल सरकारकै योजनाअनुरुप ८ पटक जाँच गर्न थालिएको छ । गाउँका कतिपय समुदायमा अझै जाँचदेखि सुत्केरी हुने अवस्थासम्म अप्ठेरो नपरी स्वास्थ्य संस्था नै नजाने प्रचलन छ । 

प्रोटोकल अनुसार गर्भ रहेको पहिलोपटक १२ हप्तामा परीक्षण गराउनुपर्छ । दोस्रो पटक १६ हप्ता, तेस्रो २० देखी २४ हप्ता, चौथो २८ हप्ता, पाँचौ ३२ हप्ता, छैठौं ३४ हप्ता, सातौं ३६ हप्ता र आठौं पटक ३८ देखि ४० हप्तामा स्वास्थ्य जाँच गराउनुपर्छ । तर महिलाहरुले नियमित जाँचमा चासो देखाउन छाडेपछि पालिकाले गर्भवती महिलालाई अण्डा उपहार योजना अघि सारेको हो । देउराली स्वास्थ्यचौकीमा गर्भवती महिलालाई एक÷एक क्रेट अण्डा उपहार दिन थालेपछि गर्भवतीहरु पनि पालिकाको यो कार्यक्रमबाट उत्साहित छन् । 

प्रोटोकल अनुसार नियमित  जाँच गराउनेको सख्या अहिले ५९ प्रतिशतमात्र रहेको पालिकाको तथ्याङक छ । अहिले रुपाकोट अस्पताल र देउराली स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर छ, तर नियमित जाँचदेखि सुत्केरीपछिको सेवा भने सबै स्वास्थ्य चौकीमा छ । 

स्वास्थ्य संस्था नै नजाने प्रवृतिले निम्त्याउन सक्ने जोखिमको अन्त्य गर्ने र स्वास्थ्य संस्था प्रति सबै समुदायलाई आकर्षित गर्न यो योजना ल्याइएको रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझा बताउँछन् ।

पालिकाका अनुसार रुपमा २०८०\०८१ म २ सय ७६ जनाले गर्भ जाँच गराउने अनुमान गरिएकोमा १ सय ५६ जनाले जाँच गराए । तर, गाउँकै स्वास्थ्य संस्थामा भने जम्मा २२ जनामात्र सुत्केरी भएका थिए । गर्भवती जाँच गरेपनि गाउँको बर्थिङ सेन्टरमा विश्वास नगरी सहरै झर्ने गरेको पाइएको छ । 

स्वास्थ्य सेवालाई व्यवस्थित र सुलभ बनाउन पालिकाले निशुल्क एम्बुलेन्स सुरु गरेको छ । गाँउमै सुविधा सम्पन्न अस्पताल र अनुभवी स्वास्थ्यकर्मी हुँदा समेत जस्तो सुकै उपचारमा सहर नै झर्ने परिपाटीको अन्त्य गर्न स्थानियहरुलाई थप जनचेतना दिनुपर्ने आवस्यकता देखिन्छ । 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update