News 24 Television
बंगलादेशले नेपाल हल्लाउँदै, विद्यार्थीहरु आन्दोलनको तयारीमा

काठमाडौं । बंगलादेशमा कोटा विरोधी आन्दोलनपश्चात उत्पन्न समस्याले निम्त्याएको त्रासकै कारण कतिपय विद्यार्थी नेपालमै छन् । 

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपालमै ईन्टर्नसीपको माग गरेका थिए । तर, कलेजले तोकेका मेडिकल कलेजमा नै आफ्नो इन्टर्नसिप पूरा गर्नु भनेर शिक्षा मन्त्रालयले सूचना जारी गरको छ । जसका कारण विद्यार्थीहरूमा अन्योलता सिर्जना भएको छ । 

बंगलादेशमा कोटा विरोधी आन्दोलनका कारण विभिन्न मेडिकल कलेजहरूमा अध्ययनरत विद्यार्थीहरू नेपाल फर्किएका थिए । अवस्था सामान्य बन्दै गर्दा अधिंकाश विद्यार्थी बंगलादेश फर्किएका छन् । तर, आन्दोलनका कारण इन्टर्नसीप गर्न नपाएर फर्किएका करिब दुई सय ५० जना एमबीबीएस तथा बीडीएस अध्ययनरत विद्यार्थीहरू भने नेपालमै छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपालमै ईन्टर्नसीपको माग गरेका थिए । 

त्यस्तै, बंगलादेश फर्किन नसकेका विद्यार्थीको इन्टर्नसिप सम्बन्धित विश्वविद्यालयको स्वीकृतिमा नेपालमै गर्ने, गराउने वा अन्य विकल्पको व्यवस्था गर्ने विषयमा शिक्षा मन्त्रालयले पनि समिति गठन गरेको थियो । तर, समितिको प्रतिवेदन सार्वजनिक नहुँदै सरकारले बंगलादेशका विभिन्न मेडिकल कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूले सोही कलेजले तोकेका मेडिकल कलेजमा नै आफ्नो इन्टर्नसिप पूरा गर्नुपर्ने भनेपछि अन्यौलता सिर्जना भएको छ ।  

निजी मेडिकल कलेजहरूले नेपालमै निःशुल्क इन्टर्नसिप गराउने क्षमता रहेको र यसको लागि सरकारसँग अनुमति माग गरेको अवस्थामा विद्यार्थीहरू आशाबादी थिए । तर, अब बंगलादेशबाट फर्किएका नेपाली विद्यार्थीहरूले तोकिएकै कलेजहरूमा आफ्नो इन्टर्नसिप पूरा गर्नुपर्ने छ । 

एमबिबिएसको अन्तिम परीक्षा उत्तीर्ण गरेपछि इन्टर्नसिप गर्न बंगलादेशमा प्राइभेट मेडिकल कलेजमा विद्यार्थीले भर्ना समयमै इन्टर्नसिपको शुल्क तिर्नुपर्ने हुन्छ । त्यही शुल्क नै पछि मेडिकल कलेजहरूले तलब भनेर इन्टर्नसिप गर्दा मासिक फिर्ता गर्ने गरेका छन्, तर सरकारी कलेजमा इन्टर्नसिप गर्नेले त्यो सुविधा पाउने गरेका छैनन् । 

सरकारले सूचना जारी गरेसँगै बंगलादेशमा अध्ययनरत विद्यार्थीहरू आक्रोशित बनेका छन् । छिमेकी मुलुक भारत, पाकिस्तान लगायत विभिन्न देशका विद्यार्थीहरूले आफ्नै देशमा इन्टर्नसीप गर्न पाउने व्यवस्था रहेको भन्दै सरकारको निर्णयलाई सच्चाएर नेपालमा नै इन्टर्नसिपको वातावरण मिलाइदिन पुनः आग्रह गरेका छन् । 

नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन, बंगलादेशले एक विज्ञप्ती जारी गर्दै सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । एकतर्फ राज्य र सम्बन्धित निकायबाट अनुमति पाए निजी मेडिकल कलेजले निःशुल्क इन्टर्नसिप गराउने भन्दा पनि राज्यले सहजीकरण गरेको देखिदैन भने अर्कोतर्फ चिकित्सा शिक्षा आयोगले पिजीका चिकित्सकलाई सरकारी सरह निर्वाहभत्ता दिनुपर्ने प्रावधान ल्यायसँगै निजी मेडिकल कलेजले पीजीका लागि निवेदन दिएनन् ।

विद्यार्थीले देशमा पढ्न नपाउने र मेडिकल पढेकाले इन्टर्नसिप गर्न नपाउने हो भने सरकारले सोचे जस्तो स्वदेशी शिक्षामा विद्यार्थी आर्कषण गर्न सक्दैन । 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update