News 24 Television
 बागमती भ्रमण वर्ष तमझाममै सीमित, प्रभावकारी योजना खोई ? 

मकवानपुर । बागमती भ्रमण वर्ष घोषणा गरेको एक वर्ष पुग्नै लाग्दा पनि यस घोषणाको प्रभावकारिता देखिएको छैन । पर्यटक आकर्षणका कुनै खाका नै तयार नगरि केवल भ्रमण वर्ष घोषणा गर्दा यो सस्तो लोकप्रियताकालागि घोषणा गरिएको कार्यक्रम मात्रै बन्न पुगेको हो । 

बागमती प्रदेश सरकारले २०८०  पुस १६ गते बागमती भ्रमण वर्ष २०२४ घोषणा गरेको थियो । अंग्रेजी मिति अनुसार जनवरी १ तारिखका दिन तत्कालीन संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले भ्रमण बर्ष २०२४ औपचारिक घोषणा गरेका थिए । 

पर्यटन प्रवद्र्धनका लागि बागमतीमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उदेश्यका साथ भ्रमण बर्ष २०२४ मनाउने घोषणा त गरियो ।  तर सोचेअनुरुपको उपलब्धि भने पाइएन ।  

भ्रमण बर्षको तामझाम लामो समय टिक्न पाएन । भ्रमण बर्ष घोषणा भएको मन्त्रालयबाटै न भ्रमणका कुनै खाका तयार भयो, न त पर्यटक भित्र्याउनका लागि कुनै महत्वपूर्ण काम नै भए । 

बागमती भ्रमण बर्ष– २०२४ घोषणा भएको ८ महिना बित्यो । यस अवधिमा बागमती प्रदेशमा कति पर्यटक भित्रिए भन्ने तथ्यांक समेत मन्त्रालयसँग छैन । प्रदेशलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिएर भ्रमण बर्षका लागि १ करोड रुपैंया बजेट विनियोजन गरेकोमा नतिजा भने शून्य देखिन्छ । यता, भ्रमण बर्षको लागि छुट्याएको कुल बजेटको ५५ प्रतिशत बजेट भने खर्च भएको मन्त्रालय बताउँछ । 

भ्रमण बर्षका लागि छुट्याइएको बजेट कम भएकै कारण समेत सोचेअनुसारको काम गर्न नसकिएको प्रवक्ता चापागाई्रको गुनासो छ । यद्यपि, बाहिरी रुपमा नदेखिए पनि भ्रमण बर्ष लक्षित प्रचार प्रसार सामाग्रीको उत्पादन जिङ्ल, डकुमेन्ट्री, राष्ट्रिय कलाकारबाट सन्देशमुलुक भिडियो सामाग्री, होडिङ बोर्ड, अनलाईन पत्रपत्रिका÷रेडियो÷टि.भि मार्फत भ्रमण बर्ष लक्षित कार्यक्रमहरु प्रचार प्रसार लगाएतका कार्यहरु सम्पन्न गरिएको जिकिर उनको छ ।

त्यसोत, भ्रमण बर्ष घोषणा गरे यताका ८ महिनाको अवधिमा यस मन्त्रालयले तीनजना मन्त्री पायो । यता, गत महिना मात्रै कांग्रेसकै विमल ठकुरी संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा पुगेका छन् । अबको केही दिनमा भ्रमण बर्षकै अवसरमा  उपलब्धिमुलक कार्यक्रम गर्ने लक्ष्य राखिएको मन्त्री ठकुरी बताउँछन् । 

प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले घोषणा गरेको भ्रमण बर्ष–२०२४ को लागि चालु आवमा १ करोड २० लाख रुपैंया बजेट विनियोजन भएको बताइएको छ । तर, प्रभावकारी योजनाको अभाव अझै पनि कायम छ  । 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update