काठमाडाैँ । सरकारका मुख्यसचिव एकनारायण अर्यालले एक्शन प्लान बनाएर बजार अनुगमनलाई प्रभावकारी बनाउन ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूलाई निर्देशन दिएका छन् ।
चाडपर्वको बेलामा खाद्यान्नमा मिसावट हुने, मूलय वृद्धि गर्ने र कालोबजारी गर्ने क्रम बढ्ने भन्दै नागरिकलाई ठगिन नदिन एक्शन प्लान बनाएर बजार अनुगमन गर्न सम्पूर्ण प्रजिअहरूलाई निर्देशन दिएका हुन् ।
शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले चाडपर्व शुरु भएपछि बजारमा मूल्यवृद्धि, मिसावट शुरु हुने गरेको भन्दै आवश्यक निरीक्षण गर्न निर्देशन दिए । स्थानीय तहसँग समन्वय गरेर कुनै पनि हिसाबमा मिसावट, गुणस्तर नभएको सामान सप्लाइ गर्ने र मूल्यवृद्धि गर्नेहरुलाई कारबाही गर्न आग्रह गरे ।
मुख्य सचिव अर्यालले कारबाहीको दायरामा ल्याउने क्रममा कसैले धम्क्याए आफूलाई खबर गर्न पनि आग्रह गरे । उनले जनतालाई सुशासन दिनुपर्ने र अपराधको नियन्त्रण गर्नुपर्ने बेला उल्टै भाडा बढाउने, मिसावट गर्ने, ठगी गर्ने कुरा सरकारलाई सह्य नहुने बताए । प्रजिअहरुसँग चाडपर्वको बेलामा भएका अपराधिक गतिविधिहरुको रिपोर्ट प्रस्तुत गर्न पनि उनले आग्रह गरे ।
उनले भने, ‘यहाँ प्रमुख जिल्ला अधिकारीज्युहरु हुनुहुन्छ । चाडपर्व शुरु भएपछि बजारमा मूल्यवृद्धि, मिसावट शुरु हुने गरेको भन्दै आवश्यक निरीक्षण गर्न निर्देशन दिन्छु । उपत्यकाको मात्रै होइन, ७७ वटै जिल्लाका जिल्ला प्रमुखहरुले स्थानीय तहसँग समन्वय गरेर बजार अनुगमनको एक्शन प्लान बनाउनुस् । कुनैपनि हिसावमा मिसावट, गुणस्तर नभएको सामान सप्लाइ गर्ने र मूल्यवृद्धि गर्नेकुरा सह्य हुँदैन । कानूनको दायरामा ल्याउनुप¥यो । हामीसँग कालोबजारी ऐन छ, एक्शनमा उत्रिनुस् र काम गर्नुस् । सबै व्यवसायीहरु बेइमानी हुँदैनन् । केही मानिसले गर्दा बद्नाम हुन्छ । बेइमान गर्नेलाई छोड्नु हुँदैन, सरकारले पनि छोड्दैन । कारबाहीको दायरामा ल्याउने क्रममा कसैले धम्क्यायो भने मलाई भन्नुहोला, डराउनु पर्दैन । जनतालाई सुशासन दिनुपर्छ । अपराधको नियन्त्रण गर्नुपर्छ । चाडपर्व र यो खालको स्थितिमा, सबै हिसावले जनता प्रताडित भएको अवस्थामा भाडा बढाउने, मिसावट गर्नेकुरामा सरकारले सहँदैन । तपाईंहरुले बजारको नियमित निरीक्षण गर्नुस् । पर्फमेन्स दिनुपर्छ । कति जना कारबाही गर्नुभयो । त्यो म हेर्न चाहन्छु ।’
मुख्यसचिव अर्यालले उनले मेरो धेरै ठाउँहरुमा सडकमा खाल्डाखुल्डी रहेकाे र पहिरो आएका ठाउँमा पहिरो नपन्छाइएको भन्दै ती समेत मर्मत गर्न अनुराेध गरे । उनले थपे, 'अबरु चाडपर्व शुरु भइसक्यो । टिकट यस पटक घटस्थापना भन्दा १५ दिन अघिदेखि नै खुलाउनुस् भनेका छौँ । सडकका खाल्डाखुल्डी र पहिरो पन्छाउने काम र यातायात सहजीकरणका लागि यातायात व्यवसायीहरुसँग मिलेर पब्लिकलाई कसरी उपभोक्तालाई सहज बनाउन सकिन्छ भनेर यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले हेर्नुपर्छ । अब खाल्डाखुल्डी भयो, गाडी एक्सिडेण्ट भयो, पहिरोका कारण समयमै गाडी पुगेन भने त्यो उपभोक्तालाई मर्का पर्छ । यसलाई निर्देशन भनेपनि भन्नुस्, अनुरोध भनेपनि भन्नुस्, जसरी स्वीकार गर्नुहुन्छ, यसलाई काम अघि बढाउन अनुरोध गर्न चाहन्छु ।'
सरकारी कर्मचारी तथा अधिकृतहरूले जागिर खानका लागि मात्रै कार्यालय आउने र झोला बोकेर नेताहरुकोमा धाउने कामको अन्त्य गर्न पनि उनले आग्रह गरे ।