News 24 Television
वीर अस्पतालमा जलन उपचार केन्द्र, बिरामीलाई १ लाख सहायता दिने घोषणा

काठमाडाैँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा अत्याधुनिक जलन उपचार केन्द्र पुनः सञ्चालनमा आएको छ । स्वास्थ्य मन्त्री पौडेलले शुक्रबार उक्त केन्द्रको सेवा शुभारम्भ गरे । सो कार्यक्रममा मन्त्री पौडेलले जलनका बिरामीलाई सरकारले रु १ लाखसम्म आर्थिक सहायता प्रदान गर्ने घोषणा समेत गरे ।

विगतमा सञ्चालनमा रहेको वीर अस्पतालको जलन उपचार सेवा २०७२ को भूकम्पपछि बन्द  थियो । शुक्रबारदेखि अत्याधुनिक सुविधा र उपकरणसहित उक्त सेवा पुनः सञ्चालनमा आएको हो । ‘डा. केडी जोशी जलन उपचार केन्द्र’ नामबाट सुरु गरिएको उक्त केन्द्रमा हाल १० वटा जनरल बेड, ५ वटा आईसीयू र ३ वटा अप्रेसन थिएटर सञ्चालन गरिएको छ । नेपालमा पहिलोपटक आगो वा अन्य माध्यमबाट पोलेका या जलेका बिरामीको आधुनिक उपचारको सुरूवात वीर अस्पतालबाटै २०४३ सालमा तत्कालीन वरिष्ठ प्लाष्टिक सर्जन डा. केशवदास (केडी) जोशीले गरेका थिए । अहिले सञ्चालनमा ल्याइएको जलन उपचार केन्द्र उनकै नामबाट नामाकरण गरिएको हो ।

सरकारले हाल क्यान्सर तथा मृगौला रोग लगायतका प्राणघातक रोगका बिरामीलाई उपचारका लागि रु १ लाख आर्थिक सहायता दिँदै आएको छ । स्वास्थ्य मन्त्रीको घोषणासँगै अब गम्भीर जलनका बिरामीले पनि सरकारबाट रु १ लाखसम्म उपचार खर्च पाउने भएका हुन् । मन्त्री पौडेलले उपचारको अभावमा जलनका बिरामीको ज्यान जाने गरेकाले सरकारले त्यस्ता बिरामीहरुको उपचारका लागि वीर अस्पतालमा केन्द्र स्थापना गरेको र आर्थिक सहायताको व्यवस्था पनि गर्न लागेको बताए । आर्थिक सहायता दिनका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकिएको उनको भनाइ छ ।

jalan-bir1-1726221239.JPG
 

मन्त्री पाैडेलले भने,‘आम नागरिकले जलन उपचारका निम्ति सुविधा पाउने एउटा स्थिति वीर अस्पतालमा बनेको छ । खासगरी बाहिरबाट हेर्दा जलन उपचार नपाएर, उपचार गर्न नसकेर मृत्यु हुनेहरु पनि थुप्र्रै हुनुहुन्छ । जीवनभर शारीरिक अपांगता व्यहोर्नुपर्नेहरु पनि थुप्रै हुनुहुन्छ । यो एउटा एक्सिडेन्टल समस्या हो । यो जानेर हुने कुरा होइन । त्यसकारण यसको उपचारलाई प्राथमिकतामा राखिनुपर्छ भनेर हामीले मन्त्रालय सम्हालेदेखिनै यो ८ वटा रोगमा राज्यले जुन सुविधा दिएको छ । यो नवौँ उपचार सुविधा पाउने अवस्था बनाउन हामीले निरन्तर प्रयास गरेका छौं । स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेर पठायो । त्यो प्रश्ताव स्वीकृत भएको छैन । माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीज्युले यसको उपचारको निम्ति डेडिकेटेड सरकारी अस्पताल पहिला हुनुप¥यो । त्यसपछि हामी त्यसमा काम गर्छौ भन्नु भएको छ । आज वीर अस्पतालमा वर्न बार्डमा डेडिकेटेड ट्रिटमेन्ट सेन्टर बनेको छ । अव यो भएपछि म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु–यो जलन उपचारमा सेवा सुविधा दिनेगरी एक लाख रुपैयाँ दिने व्यवस्था हामीले तत्काल गर्नेछौं । यो कुराको कमिटमेन्ट म गर्न चाहन्छु ।’

jalan-bir2-1726221353.JPG
 

त्यस अवसरमा वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले भूकम्पपछि सो सेवा बन्द भए पनि नेपाल सरकारले प्राथमिकता दिएपछि सो सेवा पुनः सञ्चालनमा ल्याउन सम्भव भएको बताए । उनले बिरामीहरुको चापलाई ध्यानमा राखेर वीर अस्पतालमा चार वटा फार्मेसीको व्यवस्था गरिएको पनि जानकारी गराए । 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update