News 24 Television
प्रधानमन्त्रीद्वारा पलेशालाई ६५ लाखसहित  सम्मान

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाराओलम्पिक काँस्य पदक  खेलाडी पलेशा गोवर्धनलाई सम्मान गरेका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा एक समाराेहमाझ गोवर्धनलाई नेपाल सरकारकाे तर्फबाट ६५ लाख रुपैयाँ नगदसहित सम्मान गरिएकाे हाे ।

सरकारले डिजिटल माध्यमबाट गोवर्धनको खातामा उक्त रकम जम्मा गरेको छ । सँगै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार र व्यवस्थापकलाइ २ लाख ९२ हजार पुरस्कार रकम पनि दिइएको छ । 

उक्त क्रममा प्रधानमन्त्री ओलीले नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको बताए । उनले खेल क्षेत्रका सबै विधाहरुमा अझै उत्कृष्ट प्रगति गर्दै जान खेलाडीहरुलाई आग्रह समेत गरे । क्रिकेट, फुटबल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन लगायतका खेलहरुमा नेपालले पछिल्लो समय उल्लेख्य प्रगति गरिरहेको उनकाे भनाइ छ । नेपालको अहिलेको खेल अन्तर्राष्ट्रिय स्तरको रहेको भन्दै उनले अझै खेलहरुमा खेल विज्ञता, प्रविधिको विकास आवश्यक रहेको बताए ।

प्रधानमन्त्रीले भने, ‘खेल क्षेत्रका सबै विधाहरुमा हामी यसैगरी उन्नति प्रगति गर्दै जानेछौँ आगामी दिनमा । र बितेका केही वर्षहरुमा हामीले वास्तवमै उल्लेख्य प्रगति गरेका छौँ । चाहे क्रिकेटको सन्दर्भमा होस्, फुटबलको सन्दर्भमा, भलिबल, टेबलटेनिसको सन्दर्भमा, ब्याडमिन्टनको सन्दर्भमा थुप्रै प्रगति गरेका छौँ । हाम्रा खेलाडीहरुको खेल पनि हेरेको छु । फुटबल लगायतका खेलहरुमा आलोचनात्मक टिप्पणी के हुन्थ्यो भने हाम्रा खेलाडी ढिलो खेल्छन् । तर अहिले फुर्ति छ । हाम्रो टिम हेर्दा अन्तर्राष्ट्रिय स्तरकै लाग्छ । अहिले हाम्रो टिमको खेल हेर्दा अन्तर्राष्ट्रिय स्तरकै अ‍ेल देखिन्छ । हामीले अझै विभिन्न खेलहरुमा खेल विज्ञता, प्रविधिको विकास गर्नुपर्नेछ । सफलता हाँसिल गर्दै जानुपर्छ । खेलले आपसमा मित्रता र सम्बन्धलाई विकास गर्दै लैजान मद्दत गर्दछ ।’

 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update