News 24 Television
मोहित गर्दै पाँचपोखरी, पर्यटकका के छन् सुझाव ?

सिन्धुपाल्चोक । नेपाल सरकारले एक सय वटा पर्यटकीय गन्तव्यहरुमा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरीलाई पनि समेटेको छ । विश्वकै अग्लो स्थान मध्ये नवौंमा पर्ने सिन्धुपाल्चोकको पाँचपोखरीमा अहिले बाह्रैमास पर्यटक पुग्न थालेका छन् ।  

काठमाडौंबाट नजिक पर्नुका साथै जान सजिलो अनि बसाइ र सुविधाका हिसाबले पनि सहज हुन थालेपछि पाँचपोखरीमा आन्तरिक पर्यटक बढेका हुन् । 

एक ढिस्कोमा ५ वटा पोखरीले सजिएको पाँचपोखरी इन्द्रावती नदीको उदगम् स्थल हो । जुगल हिमशृङखलाको सामुन्ने समुद्री सतहबाट ४ हजार १ सय ५० मिटर उचाइमा रहेको पाँचपोखरी क्षेत्रमा कोहि प्रकृतिको सुन्दरतामा लुटपुट हुन पुग्छन्, भने कोहि धार्मिक आस्थाका साथ पुग्ने गर्दछन् । 

पाँचपोखरी थाङपाल गाँउपालिकाको वडा नं ३ भोताङको छिम्ती देखि पाँचपोखरी सम्मको गोरेटो बाटो ब्यवस्थित हुनुका साथै आमा याङ्ग्री तथा लाङटाङ घुम्न आउने पर्यटक हेलम्बु हुदै पाँचपोखरी पुग्न थालेपछि यो क्षेत्रमा अहिले बाह्रै महिना पर्यटक पुग्न थालेका छन् । 

हिजोआज यो क्षेत्र रमाइलो र सस्तो रुटको रुपमा परीचित हुनुका साथै बसाइ र सुविधाको हिसाबले पनि उपयुक्त बन्दै गएको पर्यटकहरु बताउछन् । 

प्राकृतिक र धार्मिक महत्व बोकेको यस पोखरीमा प्रत्येक बर्षको जनै पूर्णिमामा मेला लाग्ने गर्दछ । पूर्णिमाको दिन र रातभरि पनि धामी–झाँक्रीको झाँकी हेर्न पाइन्छ । हरेक वर्ष लाग्ने जनै पूर्णिमाको मेला र अन्य समय गरेर बार्षिक ८ हजार पर्यटक पुग्ने गरेको पाँचपोखरी थाङपाल गाउँपालिकाका पर्यटन विभागको तथ्याङ्क छ ।

यहाँको प्राकृतिक सौन्दर्य तथा धार्मिक तथा सांस्कृतिक पक्षले गर्दा पर्यटकक तानिएका छन् । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र पर्ने पोखरी आसपास २५ सहित यो रुटमा ४२ टहरा ब्यवसायिक प्रयोजनका लागी निमार्ण भएका छन्  । 

अहिले पाँचपोखरीमा पर्यटकको चाँप उल्लेख्य छ तर लाङटाङ राष्ट्रिय    निकुञ्जको आफ्नै  नीति नियमका कारण होटल थप ब्यवस्थित गर्न चुनौती देखिएको छ ।

घुम्न आउने आन्तरिक र बाह्य पर्यटक वड्न  थालेपछि यो क्षेत्रमा होटल चलाएर स्थानीयको गुजारा चल्ने गरेको छ । पर्यटकको चाप बढदै गएपछि स्थानीय विदेशिने क्रम घटेको छ । 

पाँचपोखरी थाङपाल गाउँपालिकाले पर्यटनबाट नागरिकको आर्थिक स्तर सुधार्ने लक्ष्य सहित पाँचपोखरीलाई पर्यटनको नया गन्तब्यको रुपमा विकास गर्न हाई म्याराथुन, योग शिविर संचालन गरेर प्रचारप्रसारको काम गरेको थियो ।  प्रसिद्ध धार्मिक स्थल पाँचपोखरीलाई थप व्यवस्थित र आकर्षक बनाउन विभिन्न निकायसँग सहकार्यमा जुट्दै आएको जनप्रतिनिधि बताउछन् ।  

भैरवकुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड गरी पाँचवटा कुण्ड अर्थात् पोखरी रहेको यो क्षेत्र धार्मिक महत्वका साथै प्राकृतिक सौन्दर्य निहार्न जाने एक गन्तब्य   हो । 

मानिस आएर निशुल्क बस्न बनाइएका पुराना पाटीहरू संरक्षण संगै सुन्दरतामा ह्रास  आउन नदिन पोखरीकै नजिक रहेका होटललाई १ किलोमिटर वर ब्यवस्थापन गर्नुपर्ने पर्यटकहरुको सुझाव समेत छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update