News 24 Television
नेपाली किसानका लागि खुशीको खबर, दक्षिणकालीको तरकारी पुग्यो कतार

काठमाडौं । नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरू गरिएको छ । चिनियाँ सहयोगमा नेपालको कृषि कार्यक्रम अन्तर्गत पहिलो चरणमा बिहिवार काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारी कतार पठाइएको हो ।

ग्रामीण विकासका लागि चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टको कृषि प्रवद्र्धन कार्यक्रम अन्तर्गत दक्षिणकाली नगरपालिकामा तरकारी खेती गरिएको थियो । कतार पठाइएको तरकारीहरुमा अकबरे खुर्सानी, सिमी, तीते करेला लगायत छन् । 

पहिलो चरणमा प्याकेजिङ तथा प्रमाणीकरण गरी १५ सय किलोग्राम तरकारी हिमालयन एयरलाइन्समार्फत् कतारका लागि पठाएको हो । नेपालको प्राविधिक कृषि क्षेत्र सुधारका लागि यो एउटा अवसर भएको चाइना फाउण्डेसनले जनाएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आयोजित कार्यक्रममा नेपालका लागि कतारका राजदूत मिसाला बिन मोहम्मद अलि अल अन्सारीलाई हरियो तरकारी हस्तान्तरण गरिएको छ । 

किसानहरूले उत्पादन गरेका हरिया तरकारी निर्यातसँगै यसले मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्ने र किसानहरूलाई प्रोत्साहन हुने दक्षिणकाली नगरपालिका मेयर मोहन बस्नेतले बताए । 

आफ्नो चिनारीसहित गुणस्तरीय उत्पादन गरी निर्यात गर्न सके नेपाली कृषकले उचित मूल्य पाउने कृषि विभागका महानिर्देशक नरहरि घिमिरले बताए ।  

चिनिया फाउण्डेसनको सहयोगमा चिनियाँ कृषिशैली नेपालमा हस्तान्तरण गर्ने उद्देश्यले यो कार्यक्रम नेपालमा सञ्चालमा छ । फाउण्डेसनले सुरुमा प्लम्बिङ र इलेक्ट्रिसियसनको सीप विकासमा कार्यक्रम सञ्चालन गरिरहेको थियो । पछि तारकेश्वर नगरपालिकाबाट कृषि तालिममा समेत संलग्न भएको फाउण्डेसनले आफ्नो कार्यक्रम दक्षिणकाली नगरपालिकामा पनि विस्तार गरेको हो । 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update