काठमाडौं । नेपालका हरेक विश्वविद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेको छ । विश्वविद्यालयहरूले कितावको विकल्प खोज्न सकेका छैनन् ।
प्रविधिको विकाससँगै शिक्षकहरूले पनि आफूहरूलाई ‘अपग्रेड’ गर्न सकेको देखिदैन । त्यसतर्फ राज्यको न कुनै लगानी छ, न कुनै योजना नै । शिक्षा समयानुकुल नहुँदा विद्यार्थीहरू विद्यालयतहबाट नै गन्तव्य मुलुकको खोजीमा लागिरहेका छन् ।
उनी हुन् घोराही–१५ दाङका अविन आचार्य । गुरुकुल एकेडेमी सेकेण्डरी स्कुलबाट कम्प्युटर विज्ञानमा १२ कक्षासम्म अध्यान गरेका आचार्य वैदेशिक अध्ययनको तयारीमा छन् ।
उनीलाई कक्षा ८ पढ्दै गर्दा आफ्नो गन्तव्य मुलुक अमेरिका बन्छ भन्ने थाहा थियो । देशमा उनी न त स्वतन्त्रता देख्छन् न शैक्षिक विविधता नै ।
उनको बुझाईको स्वतन्त्रता परिवारसँग अलग हुनुमात्रै होइन, आर्थिक रुपमा सक्षम बन्नु पनि हो । स्नातक पढ्दै गर्दा आफ्नो खर्च धान्न धौ धौ हुनुभन्दा विदेशमा जसोतसो गरौंला भन्ने सोंच उनमा छ ।
आचार्य आर्थिक वर्ष २०८०÷८१मा वैदेशिक अध्यनका लागि गएका एक लाख १२ हजार ५ सय ९३ विद्यार्थीका प्रतिनिधि पात्र हन् । उनीहरूले पनि रोजगारी र गुणस्तरीय जीवनको सुनिश्चितताका कारण वैदेशिक अध्ययन रोजेका हुन् । हुनतः विश्वव्यापी हर्ने हो भने विद्यार्थीको ‘मोविलिटी’ हुने गर्छ ।
जुन सामान्य प्रक्रिया हो । तर नेपालको सन्दर्भमा भने विद्यार्थीहरू पढाइ भन्दा पनि सुरक्षित भविष्यका लागि विदेशिने गरेका छन् । यसमा नेपालको शैक्षिक प्रणाली प्रमुख कारण हो । शिक्षण विश्वविद्यालयले अबको विद्यार्थीलाई आर्कषण गर्न नसक्ने शिक्षाविद्हरूको तर्क छ ।
विश्वविद्यालय अनुसन्धानात्मक बन्न सकेनन् भने विद्यार्थीहरूको संख्या थप घट्ने निश्चित छ । शिक्षकहरूले आफू मात्रै जानकार रहेको तर, विद्यार्थीहरू पनि उत्तिकै जानकार छन् भन्ने स्वीकार गर्न सकेका छैनन् ।
अब शैक्षिक संस्था वा विश्वविद्यालयहरूले विद्यार्थीको जानकारी शिक्षकसँग र शिक्षकको अनुभव विद्यार्थीसँग जोड्दै तेस्रो ज्ञान कसरी बनाउने भन्नेमा जोड दिन आवश्यक छ । समयसापेक्ष प्रविधिको विकास भइरहदा पुरानो नै हुनुपर्छ भन्ने मानसिकताका कारण लगानी बढ्न सकेको छैन । त्यसैले कितावको विकल्प खोज्न शिक्षाविद् सुझाउँछन् ।
वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूलाई रोक्न ठूला पूर्वाधारमा लगानीको आवश्यकता छैन । शिक्षा क्षेत्रलाई समयानुकुल सुधार गर्दै प्रयोगात्मक तथा ब्यावहारीक शिक्षालाई प्राथमिकता दिन आवश्यक छ । पढाइसँगै विद्यार्थीको आर्थिक उपार्जनको वातावरण बनाउन पनि उत्तिकै जरुरी छ ।