News 24 Television
अझै रोकिएन संसदमा ‘हिंसा काण्ड’, बारम्बार भिड्दै सांसदहरु

काठमाडौं । संसदमा ‘माओवादी हिंसा’ भन्ने शब्द प्रयोग भएकै कारण सिर्जत लफडा अझै समाधान हुन सकेको छैन । बरु यसले अझ विकराल रुप लिन थालेको छ । 

यही यही विषयमाथिको किचलोले बुधबारको संसद बैठकमा पनि माओवादी – एमाले सांसदबीच दोहोरी चल्यो । जसका कारण संसद बैठक नै स्थगित गर्नुपर्ने  अवस्था आइलागेको छ । 

भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले संसदमा सत्ता पक्ष र प्रतिपक्षबीचको सवाल जवाफमा माओवादी आन्दोलनलाई हिंसाको रुपमा परिभाषित गरेका थिए । विद्युत प्राधिकरणको सवालमा उठेको प्रशंगमा सांसद भट्टराईले माओवादी हिंसा नभएको भए विद्युत क्षेत्रमा हालको भन्दा धेरै फड्को मार्न सकिने  अभिव्यक्ति दिएका थिए । 

तर सांसद भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माओवादीले तत्काल उक्त शब्द रेकर्डबाट हटाउन सभामुखलाई ध्यानाकर्षण गरायो । यसपछि माओवादीको मागलाई मध्यनजर गर्दै सभामुख देवराज घिमिरेले संसद सचिवालाई छानविनका लागि निर्देशन दिएका थिए । तर सभामुखको उक्त निर्देशन लगत्तै एमाले सांसदहरु सअन्तुष्ट भए ।

यसपछि पुनः एमाले र माओवादी सांसदहरुबीच चर्काचर्की भएको थियो । तर संसद सचिवालयले योगेश भट्टराईद्वारा अभिव्यक्त उक्त हिंसा भन्ने शब्द रेकर्डबाट हटाउन नपर्ने ठहर गरेको छ । बुधबारको संसद बैठकमा सभामुखले यसको रुलिङ गरेका थिए । 

यद्यपि सभामुखको उक्त रुलिङप्रति असहमति जनाउँदै माओवादीले पुनः संसदमै विरोध जनायो । सो रुलिङ संविधान विपरित भएको भन्दै माओवादी केन्द्रका सांसदहरु आक्रोशित भए । 

माओवादीको यो अडान र तर्कपछि एमाले सांसदहरु पनि पुनः प्रतिजवाफमा उत्रिए । हिंसा शब्द आफैँमा असंसदीय नभएको एमालेको दावी छ । यो प्रकरणमा सभामुखको रुलिङलाई  मानेर जानुको विकल्प नरहेको एमालेको जिकिर छ । 

एमालेले हिंसा शब्द संसदीय र कानूनी भएको पुष्टि गर्ने आधार प्रमाणित गर्ने क्रमम टिआरसी विद्येयकमा भएका छलफल तथा निर्णयहरुको पनि उदाहरण दिएको छ । 

तर माओवादीले भने सभामुखको रुलिङ संविधान र कानुन विपरित भएकाले अमान्य हुने  अडान कायमै राखेको छ । यसका साथै माओवादीले एमालेबाट होच्याउने नियतका हिंसा संसदमा हिंसा शब्द प्रयोग भएकाले सभामुख र संसद सचिवालयलाई रुलिङमाथि पुनरविचरार गर्न दवाव दिइरहेको छ ।

बधबार माओवादी र एमाले सांसदहरुबीच हिंसा शब्दमै सिर्जित लफडाका कारण अघि बढ्न नसक्ने निश्कर्षसहित सभामुखले बैठक अन्त्यको घोषणा गरेका हुन् ।  

 मुख्यगरी काँग्रेस–एमालेको समीकरणमा नयाँ सरकार गठन भएपछि एमाले र माओवादीबीच घोचपेच जारी छ । यही क्रममा प्रमुख प्रतिक्षी कित्तामा पुगेको माओवादीले सरकारमाथि उठाएको प्रश्नको जवाफमा एमाले सांसद योगेश भट्टराईले प्रतिजवाफ दिँदै माओवादीले हिंसा गरेको भन्ने अभिव्यक्ति दिएका थिए । 

यही विषयमा सिर्जित विवादले संसदमा दुई दलका सांसदहरुबीच रडाको मच्चिरहेको छ । जुन विवाद दुई हप्तासम्म पनि समाधान हुन सकिरहेको छैन । 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update