काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्राम गर्ने सुविधा नरहेको भन्दै तीब्रताका साथ सरकारका काम कारबाही अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । बिहीवार सिंहदरबारमा उपप्रधानमन्त्री तथा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै उनले मन्त्रीहरुलाई सो निर्देशन दिएका हुन् ।
मन्त्रीहरुलाई विश्राम गर्ने, अलमल गर्ने, ढिलो गर्ने छुट नरहेको भन्दै प्रधानमन्त्रीले अब कार्यक्षेत्रमा थप योजना र थप सक्रियताका साथ अघि बढ्नुपर्ने बताए । उनले बिस्तारै गराैँला नि भन्ने सोचले अहिलेसम्म काम हुन नसकेको भन्दै अब त्यो सोच नराख्न आग्रह गरे । काममा तीब्रतासँगै योजनाबद्धता पनि आवश्यक रहेको र मन्त्रालयबीच एक-अर्कालाई सहयोग गर्ने भावना हुन जरुरी रहेको उनकाे भनाइ छ ।
उनले भने, ‘हामी अब कार्यक्षेत्रमा थप योजना र थप सक्रियताका साथ जानेछौँ । मैले अघिल्लो पटकमा पनि भनेको छु, हामी कामलाई तिब्रता दिनेछौँ । हाम्रो एउटा कमजोरी के रहेको छ भने काम बिस्तारै, बिस्तारै गर्ने भन्ने ढंगको अभ्यास छ । त्यस्तो होइन । हामीसँग ढिलो गर्ने सुविधा पनि छैन, अलमल गर्ने सुविधा पनि छैन । विश्राम गर्ने सुविधा पनि छैन । हामीले अत्यन्तै तिब्र गतिले काम अघि बढाउनुपर्ने छ । हामे गतिमा तिब्रता चाहिन्छ । काममा योजनावद्धता चाहिन्छ । पारस्परिक एक अर्कामा साथ र सहयोग चाहिन्छ । एउटा र अर्को मन्त्रालय बीचको कोर्डिनेशन र कतिपय कुरा डुब्लिकेसन नहोस् । अधिकार, काम, खर्चको डुब्लिकेसन । त्यही एउटै चिज यसले पनि गर्ने, उसले पनि गर्ने भन्दा कसले गर्ने टुंगो नलाग्ने स्थिति बन्नु हुँदैन । जिम्मेवारीलाई पनि स्पष्टताका साथ कार्य सम्पादन गर्नुपर्छ ।’